• १२ साउन २०८१, शनिबार

पूर्व प्रदेश प्रमुख यादवको निधन

blog

लुम्बिनी प्रदेशका पूर्व प्रमुख स्वर्गीय धर्मनाथ प्रसाद यादव ।फाइल तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, फागुन २९ गते। लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो।यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।

यादव पछिल्लो समयमा पक्षघातले च्यापेपछि  ओछ्यान पर्नुभएको थियो।नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठका अनुसार उहाँको निवासमै निधन भएको हो।

उहाँ २०१६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर अविछिन्न रूपमा पार्टीको काम गर्दै आउनु भएको थियो।पेसाले शिक्षक यादव २०४६ सालपछि शिक्षक पेसा छाडेर राजनीतिमा लाग्नुभएको हो।२०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएको थियो।

राजनीतिमा लागेर आफ्नो सम्पत्ति र जागिरसमेत  गुमाउनु भएका यादवको अन्तिम संस्कार सुखीपुर नगरपालिका –६ खरहीटोलमा हुने नेकपा एमाले सिरहाले जनाएको छ।२०३७ सालमा उहाँ तीन महिना जेल समेत पर्नुभएको थियो।