• १३ मंसिर २०८१, बिहिबार

फुङ्लिङ नगरपालिकामा ११७ जना भूमिहीन

blog

जिल्लाका भूमिहीनको विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका अतिथि । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २९ गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक सय सत्र जना भूमिहीन रहेको पाइएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले फुङ्लिङ नगरपालिकामा मात्र उक्त सङ्ख्यामा भूमिहीन रहेका जनाएको हो ।

समितिले मङ्गलबार पत्रकार सम्मेलन गरी भूमिहीन सुकुम्वासीहरूको विवरण सार्वजनिक गरेको हो । फुङ्लिङ नगरपालिकामा सो सङ्ख्यामा वर्षौँदेखि लालपुर्जाविहीन रहेका भूमिहीन फेला परेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिनुभयो। 

अध्यक्ष बस्नेतले दुई वर्ष अघिदेखि आयोगले भूमिहीन परिवारको खोजी तथा विवरण सङ्कलन गर्दै आएको र हालसम्म फुङ्लिङका मात्र ११७ जना भूमिहीन प्रमाणित भएका बताउनुभयो । 

प्रमाणीकरण भएका भूमिहीनमध्ये भूमिहीन दलित ३६ जना, भूमिहीन सुकुम्वासी ७० र अव्यवस्थित बसोवासी ११ जना रहेका छन् । फुङ्लिङ नगरपालिकामा १७३ जनाले आफूहरू भूमिहीन भएको भनी समितिसमक्ष निवेदन दिएका थिए । प्रमाणीकरण भएका फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई गत पुस २६ गते नै समितिले जग्गाको निस्सा वितरण गरेको थियो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि भूमिहीनको सङ्ख्या प्रमाणीकरणको प्रक्रिया जारी रहेको समिति अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिकामा पनि पालिकास्तरबाट २८ जना भूमिहीन प्रमाणीकरण भएका छन् । पालिकास्तरबाट प्रमाणीकरण भई उनीहरूलाई गाउँपालिकाले निस्सासमेत वितरण गरिसकेको छ । गाउँपालिकाद्वारा जग्गाको निस्सा वितरण गरिएको भूमिहीनको अन्तिम प्रमाणीकरण भने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गर्ने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।

यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि आउँदो आइतबार स्थानीय स्तरमा प्रमाणीकरण भएका भूमिहीनलाई निस्सा वितरण गर्ने तयारी गरेको समितिले जनाएको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा पनि निस्सा वितरण गर्ने प्रक्रिया तीव्र रूपमा भइरहेको समितिका विज्ञ सदस्य बालहाङ याक्सोले जानकारी दिनुभयो । नौ स्थानीय तह रहेको जिल्लाका अन्य पालिकामा भने अझै भूमिहीनको सङ्ख्या प्रमाणीकरण गर्ने काम पूरा भइनसकेको याक्सोले बताउनुभयो ।

यता जिल्लाभरमा एक हजार ४३५ जनाले भूमिहीन भएकोभन्दै जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष निवेदन दिएका छन् । समितिले २०७९ साल पुस २२ गते सूचना प्रकाशित गरी भूमिहीनका लागि निवेदन आह्वान गरेको थियो । उक्त सूचनाको अवधिभित्र भूमिहीन दलित १९६ जना, भूमिहीन सुकुम्वासी ४२६ र अव्यवस्थित बसोवासीको ८१३ जनाले निवेदन दिएका थिए ।

कतिपय स्थानीय तहले तदारुकता नदेखाउँदा निवेदन दिएको लामो समय भइसक्दा पनि भूमिहीन प्रमाणीकरण गर्ने कार्यमा ढिलाइ भइरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आरोप रहेको छ । समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल लगायतको उपस्थिति रहेको थियो ।