• १३ साउन २०८१, आइतबार

मेडिसिटी अस्पतालद्वारा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण

blog

मिर्गौला प्रत्यारोपणबारे जानकारी दिइँदै ।

काठमाडौँ, फागुन २९ गते । भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले मङ्गलबार एक कार्यक्रम गर्दै सेवा सुरु गरेदेखि २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको हो । 

अस्पतालले २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा २३ जना बिरामीले मिर्गौला प्रत्यारोपण गरिसकेको छ । १५० प्रत्यारोपणका आएकामध्ये २३ जनाको सफल प्रत्यारोपण गरिएको छ भने नौ जना प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । 

१७ वर्षको युवा देखि ६५ वर्षका वृद्धको सफल रूपमा प्रत्यारोपण गरिएको ड.पौडेलको भनाई छ । मिर्गौला दान गर्नेमा १८ वर्षको दातादेखि ६५ वर्षसम्मका रहेका छन् । डा.पौडेलका अनुसार मिर्गौला दान गर्नेमा महिला बढी रहेका छन् । उहाँ भन्नुहुन्छ, “दान गर्नेमा १६ जना महिला र सात जना पुरुष रहेका छन् । मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र सात जना महिला रहेका छन् ।”

बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकांश बिरामीहरूको मिर्गौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको डा. पौडेलले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “प्रत्यारोपण गरेका अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गौला बिग्रेका रहेका छन् । त्यो बाहेक ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गौला बिग्रेर जान्छ ।” 

पछिल्लो समय प्रत्यारोपणका लागि विदेशरोजगारमा काम गर्न गएका आउने गरेका छन् । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा यो समस्या देखिएको डा. पौडेल बताउनुहुन्छ । डा. पौडेलका अनुसार पाँच जना मिर्गौला प्रत्यारोपण भएकाहरू कतार, दुबईबाट फर्केर उपचारका लागि आएका छन् । 

निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा मिर्गौलाको समस्या बढी देखिएको डा. पौडेलको भनाई छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा लाग्ने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले जानकारी दिनुभयो । 

डा.काफ्ले भन्नुहुन्छ, “यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मिर्गौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुने हुँदा बिरामी छिटो डिस्चार्ज हुने गरेका छन् ।” नेपालमा कूल जनसङ्ख्याको १० प्रतिशत अर्थात् करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएको छ । 

यीमध्ये तीन लाख मानिसको मिर्गौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मिर्गौलाका तीन हजार नयाँ बिरामीहरू डायलिसिसका लागि थपिने गरेका छन् । दुवै मिर्गौला खराब भइसकेपछि गरिने डायलिसिस पनि जिन्दगीभर गर्नुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मिर्गौला प्रत्यारोपणलाई मानिन्छ ।