• २१ वैशाख २०८१, शुक्रबार

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

blog

मैत्रीपूर्ण खेलका लागि तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २९ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । 

मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली मङ्गलबार नै मलेसिया प्रस्थान गर्नेछ । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार विदाइ गरेको छ । नेपाली टोली मलेसियासँग मैत्री खेल र केही अभ्यासपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होम र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ । 

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो । 

एन्फाले मङ्गलबार नै प्रशिक्षणमा रहेका खेलाडीबाट मलेसिया र महराइनसँगको खेलका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीको गोलरक्षकमा किरण चेम्जोङ, अभिषेक रिजाल र विशाल सुनार हुनुहुन्छ । 

रक्षकमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ हुनुहुन्छ । मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सव राई तथा स्ट्राइकरमा अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र जिलेस्पी जङ्ग कार्की हुनुहुन्छ ।