• १२ साउन २०८१, शनिबार

मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा

blog

धनुषाको ढल्केबर चोकमा राखिएका राष्ट्रिय झण्डा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, फागुन २९ गते ।
मधेश प्रदेशका चोक–चोकमा राष्ट्रिय झण्डा राख्ने चलन बढेको छ । राष्ट्रिय झण्डाप्रतिको सम्मान दर्साउन तथा चोकलाई सुन्दर बनाउन राष्ट्रिय झण्डा राख्न थालिएको हो ।

धनुषाको ढल्केबर, महेन्द्रनगर, जनकपुर र महोत्तरीको बर्दिवास चोकमा राष्ट्रिय झण्डा राखिएको छ । महोत्तरीको मटिहानीमा राखिएको झण्डा ११० फिट अग्लो छ । सो झण्डाको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुभएको थियो ।

यस्तै, धनुषाको ढल्केबर चोकमा स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्थाले २५ वटा राष्ट्रिय झण्डा राखिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको महेन्द्र पार्कका तीन वटै कुनामा पनि झण्डा ठड्याइएको छ । झण्डा राखेपछि चोक सुन्दर देखिएको स्थानीयको भनाइ छ ।  

मिथिला उद्योग वाणिज्य सङ्घका महासचिव दीपक लामाले राष्ट्रिय झण्डा नेपालको पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएकाले ढल्केबर चोकमा राखिएको बताउनुभयो । साउन महिना पहिलो पटक झण्डा राखिएको बताउनुहुँदै उहाँले त्यसयता दुई पटक नयाँ झण्डा फेरिएको जानकारी दिनुभयो ।


“घामपानीको असरले झण्डाको रङ खुइलिन थालेपछि नयाँ फेरिएको हो । झण्डा ठड्याउनु ठुलो कुरा होइन् । हेरचाह पनि गर्नुपर्छ”, महासचिव लामाले भन्नुभयो । उहाँले झण्डा च्यातियो अथवा धुलो मैलो भएको अवस्थामा तुरुन्त बदल्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

जनकपुरका अमरेन्द्रकुमार यादवले भने देखासिकीमा जथाभावी राष्ट्रिय झण्डा राख्न नहुने बताउनुभयो । चोकको सौन्दर्य बढाउन तथा सम्मानमा राष्ट्रिय झण्डा राखेपछि त्यसको उचित रेखदेख हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय झण्डा हामी नेपालीका लागि सम्मान तथा पहिचान हो । त्यसैले देखासिकी गरेर जथाभावी ठड्याउनु हुँदैन ।’’ यस्तै, देखासिकीमा कतिपय स्थानमा राखिएका झण्डा च्यातिएको अवस्थामा देखिएको यादवले बताउनुभयो ।

सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका परिवर्तन गरेको छ ।