• १२ साउन २०८१, शनिबार

तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

blog

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन २९ गते । मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ  । जिल्लाको थाहा नगरपालिका वडा नं. ७, डाँडावास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहनुभएका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीको रवि व्यावसायिक कृषि फार्ममार्फत् कागती खेती गरिरहनुभएका मुना अर्याल र हेटौँडा–१७ स्थित विविआर एग्रो प्रालिमार्फत् वाेयर जातको बाख्रा पालन गरिरहनुभएका कृषक जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । 

तीनै जना कृषकलाई पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले मङ्गलबार एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गर्नुभयो । जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौँडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । 

पुरस्कार प्राप्त गर्ने डाँडावास कृषि प्रालिले बाख्रा पालनका साथै व्यावसायिक तरकारी खेती गर्दै आइरहेको छ । दुई पुस्तादेखि कृषि कार्यगर्दै आएको सञ्चालक इमान सिं थिङले बताउनुभयो । उहाँको परिवारले ६० वटा खरिजात, जमुना पारी र वायर जातको बाख्रा पालन गर्नुका साथै पालुङमा मुला, बन्दा, काउली, आलु  लगायतका तरकारी व्यावसायिक रूपमा गर्दै आउनुभएको छ । उहाँले ४० रोपनीमा कृषि कर्म गर्नुभएको छ भने बाख्राको लागि जै घाँस, सुपर नेपिएर, धुधिलो घाँस लगाउनुभएको छ । उहाँले कृषि र बाख्रा पालनबाट वार्षिक करिब १४ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

त्यस्तै रवि व्यावसायिक कृषि फार्ममार्फत् २०६७ सालदेखि एकसय पाडापालनबाट सुरुवात गर्नुभएका अर्यालले २०६८ सालमा कुखुरा पालनदेखि कागती खेती, ड्रागन खेती गर्दै आउनुभएको छ । करिब १२ कठ्ठा क्षेत्रफलमा सुन कागती, ड्रागन, कुरिलो खेती गर्दै आउनुभएका अर्यालले ५ जनालाई रोजगारी समेत दिनुभएको छ । उहाँले करिब एक करोड लगानीमा कृषि कर्म गर्दै आउनुभएको छ भने उहाँले अर्ग्यानिक खेती गर्नुभएको छ । वार्षिक २० लाख सम्मको कारोबार गर्ने अर्यालले वार्षिक ६ लाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो । 

विविआर एग्रो प्रालिका सञ्चालक झङ्कनाथ सुवेदीले वाेयर जातको बाख्रा पालन गर्दै आउनुभएको छ । उहाँले व्यावसायिक रूपमा गर्नुभएको फर्म मार्फत बोयर जातको पाठापाठी उत्पादन गरेर बिक्री वितरण गर्दै आउनुभएको छ । कुखुरा पालनबाट कृषिको व्यावसायिक यात्रा सुरु गर्नुभएका सुवेदी वल्डफ्लुले सबै कुखुरा मरेपछि बाख्रा पालन व्यवसायमा लाग्नुभएको हो । उहाँले अष्ट्रेलियाबाट वोयरजातको बोका ल्याएर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले देशको ६५ जिल्लामा वोयरजातको बोका बिक्री गरेको बताउनुभयो । उहाँ युवा कृषक पनि हुनुहुन्छ ।