• १३ साउन २०८१, आइतबार

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक सङ्कटको समाधान गर्ने

blog

नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्मा

काठमाडौं, फागुन २९ गते । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक सङ्कटको हल गर्ने बताउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक सङ्कटको हल गर्ने बताउनुभएको हो । उहाँले देशमा अहिले आर्थिक सङ्कट र राष्ट्रियताको सङ्कट पनि भएको उल्लेख गर्नुहुँदै ती सबै सङ्कट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताउनुभयो । उहाँले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको सङ्कट समाधान गर्नसक्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देश यतिबेला आर्थिक रूपमा सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रियताको हिसाबले पनि सङ्कटबाट गुज्रिरहेको छ । मुख्यतः राजनीतिक हिसाबले पनि सङ्कटबाट गुज्रिरहेको छ । सायद यो कुरालाई आत्मसात् गरेर एउटा नयाँ कोर्ष, नयाँ यात्राको थालनी भएको छ । यो राजनीतिक रूपमा सुरु भएको नयाँ सहयात्राले राजनीतिक सङ्कटको हल गर्छ । हामीले लामो समयदेखि नेपालको अर्थतन्त्रको एउटा लय, बाटो र दिशा समात्यौँ । त्यो दिशालाई बदलेर उत्पादनमा वृद्धि र रोजगारी सृष्टिको दिशा बनाएर अगाडी जाँदा नै यो देशको अर्थतन्त्रको सङ्कट समाधान गर्नसक्छौँ ।’’

उहाँले देशको राष्ट्रियतालाई बलियो बनाउनको निम्ति राजनीतिक दलहरू पनि बलियो हुनुपर्ने बताउनुभयो ।