गुणबहादुर रोका
सुलीकोट, फागुन २८ गते । गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् । विद्यालयले नजिकै रहेको जग्गा भाडामा लिएर उत्पादन गरेको आलु बिक्री वितरण भइरहेको त्रिवेणी माविका प्रधानाध्यापक गणेश सेढाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ६ देखि १२ कक्षासम्मका १९० जना विद्यार्थीहरूको सहभागितामा आलु खेती भएको थियो । उत्पादित १२ क्विन्टल आलुमध्ये आइतबारसम्म ९ क्विन्टल आलु बिक्री वितरण भइसकेको प्रधानाध्यापक सेढाईको भनाइ छ । आलु खेतीका लागि पालुङटार नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बिउँ उपलब्ध गराएको थियो ।
विद्यार्थीहरूले लगाएको आलु ४० केजीभन्दा मुनी लैजाने ग्राहकलाई ३५ रुपियाँ र ४० केजीभन्दा बढी लाने ग्राहकलाई ३० रुपियाँको दरले बिक्री वितरण गरिएको सहायक प्रधानाध्यापक गणेश बहादुर गुरुङले जानकारी दिनुभयो । त्रिवेणी माध्यमिक विद्यालयमा कृषि धार अन्तर्गत बाली विज्ञान पढाई हुने गरेको छ ।
कृषि धार पढाउने विद्यालयले प्रयोगात्मक कक्षा स्वरूप विद्यार्थीहरूलाई खेतीमा सहभागिता गराएको हो । विद्यालयले पाँच वर्षका लागि १० रोपनी खेत र ८ रोपनी पाखो बारी भाडामा लिएको छ । अहिले त्यसको खेतको वर्षमा २ लाख र पाखो बारीको वर्षमा १ लाख घरधनीलाई बुझाउने गरी विद्यालय र जग्गा धनी बिच सम्झौता भएको छ । सोही जग्गामा विद्यार्थीहरूले वर्षमा तीन पटक धान, आलु, टमटर, काक्रो, काउली, बन्दा, मोटरकोषा, लगायतको खेती गर्ने गरिएको छ ।
अब आलु खेतीपछि विद्यार्थीहरूले बेसौमी तरकारी टमटर, काक्रो, घिरौला खुर्सानी चिचीन्ने लगायतका तरकारी खेती लगाउने तयारी गरिरहेको प्रधानाध्यापक सेढाईले बताउनुभयो । यस त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीहरूको मिहिनेत अनुसार खेतीमा सहभागी विद्यार्थीहरूलाई प्रयोगात्मक नम्बर दिने गरिएको छ ।
विद्यालयले खेती लगाउँदा लाग्ने खर्च व्यवस्थापन गरेको तथा विद्यार्थीहरूले खेती गर्दा खाजा खाएको रकम भने खेतीबाट आएको आम्दानीबाट खर्च गरी बाँकी रहेको रकम विद्यार्थीहरूलाई उपलब्ध गराउने गरिएको छ ।