• २० असार २०८१, बिहिबार

कोशी प्रदेशका सम्भावना

blog

चौध वटा जिल्ला भएको कोशी प्रदेशमा हिमाल, पहाड र तराईको भूभाग छ । यस प्रदेशमा महानगरपालिका एक उपमहानगरपालिका दुई, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा गरी १३७ वटा स्थानीय तह छन् । २०७८ सालको १२ औँ राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार ४९ लाख ६१ हजार ४१२ कुल जनसङ्ख्या रहेका छन् । अन्य प्रदेशको तुलनामा यो प्रदेश विकसित छ । यहाँको हावापानी विविधतापूर्ण छ । लगभग सबै जिल्लाका सदरमुकाममा पक्की सडक जोडिएको छ । स्थानीय तहसम्म सडक सञ्जाल, सञ्चारको सञ्जाल, विद्युत् विस्तार क्रमशः हुँदै छ ।

कृषि, ऊर्जा, पर्यटन र औद्योगिकीकरणबाट विकास र समृद्धि हासिल गर्न कोशीका लागि धेरै आधार छन् । १२ हजार ९५३ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेका तमोर, अरुण, दुधकोशी, लिखु, सुनकोशीलगायत अन्य नदीमा थप सम्भावनाको पहिचान गर्नुपर्ने देखिन्छ ।

कृषियोग्य जमिनको खण्डीकरण वा क्षयीकरण रोक्दै कृषिमार्फत प्रदेशले धेरै उपलब्धि हासिल गर्न सक्छ । त्यसैले सबै स्थानीय तहले भूउपयोग नीति तयारी गर्ने र कार्यान्वयनमा लैजानु पर्छ । तराईदेखि पाँच हजार मिटर उचाइसम्म कृषि तथा पशुपालन गरिँदै आएकाले यसबाट पर्यापर्यटनको अवधारणा पनि अगाडि सार्न सकिन्छ । 

पर्यटनको ब्रान्डिङ गर्ने र लक्षित समूहसम्म प्रवर्धन गर्ने स्पष्ट खाका तयार गर्नु पर्छ । गन्तव्यसम्मको पहुँच मार्ग, सुविधा र पर्यटकमैत्री व्यवहारको पनि अभाव देखिएकाले ‘एक जिल्ला बहुगन्तव्य, एक गन्तव्य बहुआकर्षण, एक गाउँ एक लगानी’ को अवधारणालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने देखिन्छ ।

तराई भूभाग मुख्यतः खाद्यान्न उत्पादनमा, पहाडी भूभाग नगदेबाली, फलफूल र तरकारी उत्पादनमा सशक्त देखिए पनि हिमाली जिल्ला खाद्यान्न उत्पादनमा आत्मनिर्भर देखिन नसकेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय सरकार सशक्त भए पनि प्रदेश सरकार रहेको अनुभूति जनताले पाउन सक्ने वातावरण तयार गरी काम गर्नुपर्ने देखिन्छ । तीन तहका सरकारमध्ये प्रदेश सरकारको उपस्थिति त्यति सन्तोषजनक नदेखिएकाले यस विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नु पर्छ । 

भारत, चीन, बङ्गलादेशमा वैदेशिक व्यापार बढाउन यससम्बन्धी नीतिमा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने देखिन्छ । अलैँची, चिया, अदुवा जस्ता यहाँका उत्पादन निर्यात गर्न सकिन्छ । क्षेत्रगत उत्पादनलाई बढाउने, फलफूल उत्पादनलाई प्रोत्साहन दिने र भण्डारण क्षमतासमेत बढाउन सोही अनुसारको नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

केही वर्षअघि कोशी प्रदेशको पर्यटनका सवालमा एउटा नारा सार्वजनिक भएको थियो– ‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ । नारा आकर्षक र मिठो सुनिए पनि त्यो कार्यान्वयनमा आएन । नेपालका सात प्रदेशमध्ये कोशी प्रदेशमा संसारकै अग्लो स्थान सगरमाथा पर्छ । वास्तवमा कोशीमा अथाह सम्भावना भएका स्थान छन् । ती स्थानको विकास र प्रवर्धनमा सरकारी योजना त्यति प्रभावकारी भएनन् । 

विविध कारणले यहाँको पर्यटकीय क्षेत्रले गति लिन सकेको छैन । स्थानीय तहले अगाडि सारेका कार्यक्रमले पर्यटनमार्फत समृद्धिको बाटो त कोरेका छन् तर ती पर्याप्त छैनन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्धन गर्न सङ्घीय सरकारले पनि सघाउनु पर्छ । कोशी पर्यटनको अब्बल हब हो र आर्थिक समृद्धिका लागि आधार क्षेत्र हो । 

कोशी प्रदेश कृषि, धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले कमजोर छैन । प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल र दक्षिणतर्फ विहार पर्छ । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्ने भएकाले भारतीय, बङ्गलादेशी एवं चिनियाँ पर्यटक भिœयाउन सकिने प्रशस्त आधार छन् ।

सगरमाथा, कञ्चनजङ्गा मकालु, चोयु, लोत्से हिमशृृङ्खला देखाएर वा आरोहण गराएर कोशीले समृद्धि हासिल गर्न सक्छ । निकुञ्जको उपयोगका लागि कानुन र क्षेत्राधिकारका विषयमा सङ्घ र प्रदेशबिच तालमेल हुन पर्छ । सगरमाथा राष्ट्रिय निकुन्ज, मकालु बरुण राष्ट्रिय निकुन्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्गा संरक्षण क्षेत्रलगायतबाट कोशीले फाइदा उठाउन सक्नु पर्छ । यसका लागि प्रदेश सरकारले प्रशस्त काम गर्नुपर्ने अवस्था छ ।

कोशी सुन्दर पहाड र उच्च हिमशृङ्खलालगायत प्राकृतिक सम्पदाले भरिएको प्रदेश हो । यहाँ जल पर्यटनको सम्भावना पनि प्रशस्त छ । तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी जलाशयबाट प्रदेशले धेरै फाइदा लिन सक्ने भए पनि यसमा कुनै किसिमका योजना बनाउन सकिएको देखिँदैन । असङ्ख्य मठमन्दिर, पाटीपौवा, गुम्बा, मस्जिदले भरिपूर्ण कोशी धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको प्रदेश हो । ताप्लेजुङको पाथीभरा, इलामको माईपोखरी र सानी पाथीभरा, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दुधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थल यहाँ रहेका छन् । ती स्थलमा भारतीय पर्यटकलाई भिœयाएर आर्थिक उपलब्धि हासिल गर्न सकिन्छ ।

हुन त कोशीमा विकासका पूर्वाधारको योजना प्रशस्त अघि बढेका छन् तर ती प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । मोरङको विराटनगरदेखि सुनसरीको इटहरी हुँदै तरहरासम्म मोनोरेल, विराटनगर–धरान सडकखण्डमा व्यापारिक मार्गको माथिबाट लिक बनाएर रेल सञ्चालन गरिने योजना अलपत्र जस्तै छन् । यी योजना बाह्य पर्यटक भित्र्याउने गतिलो आधार हुन सक्छन् । 

विश्वकै गहिरो उपत्यका अरुण, ३२ प्रकारका लालीगुराँसमध्ये २८ प्रकारका लालीगुराँस पाइने तीनजुरे–मिल्के–जलजले (टिएमजे), नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी जस्ता स्थानको प्रवर्धनमा ध्यान पुग्न सकेको छैन । निजी क्षेत्रलाई आकर्षित गर्न र अन्तर्राष्ट्रिय मिडियामा ती स्थानको प्रचार गर्न सकिएको छैन । यसका लागि प्रदेश सरकारले योजना अघि बढाई स्थानीय सरकारलाई पनि प्रोत्साहित गर्न सक्नु पर्छ । कोशीका सबै जिल्ला घुम्नलायक छन् । सुविधासम्पन्न होटल, रिसोर्ट र कटेजहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्छ । 

२०३८ सालमा बेलायती युवराजले भ्रमण गरेको भेडेटार र २०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखिसकेकाले कोशीको ख्याति विश्वमा फैलिएको छ । सर्वोच्च शिखर सगरमाथा मात्र होइन, विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा हिमाल, किरात धर्मका प्रवर्तक फाल्गुनन्दको कर्मभूमि भएको क्षेत्र पनि हो । साथै अत्यधिक उर्वर तथा घनाबस्ती भएको झापा ‘धान उत्पादनको भण्डार’ नै हो ।

पुरानो औद्योगिक नगरी विराटगर अन्तर्राष्ट्रिय व्यापारको अब्बल स्थान हो । विसं १९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्रीले यहाँको उद्योगधन्दाको इतिहासलाई पनि दर्शाउँछ । विश्वका साहसिक, प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्ने पर्यटकका लागि सोलुखुम्बु आफैँमा अब्बल छ । प्रदेशको सबैभन्दा रमणीय जिल्ला इलाम चियाखेतीका कारण चर्चित छ । अर्गानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । कोशी टप्पुलाई अर्ना र चराको स्वर्ग मानिन्छ । यो स्थान विश्वका पर्यटकका लागि रोजाइमा पर्ने स्थान नै हुन् । कोशीका १४ जिल्ला विश्वका पर्यटक अकार्षित गर्न र व्यापारका लागि पनि उपयुक्त स्थान भएकाले दीर्घकालीन योजनामार्फत काम गर्नु आवश्यक छ । 

कोशीमा भएका विमानस्थलमा दुई वटा मात्र निरन्तर सञ्चालित छन् । कतिपय अवरुद्ध छन् । विमानस्थलका बारेमा सरकारले दीर्घकालीन योजना अघि सार्नै पर्छ । पूर्व–पश्चिम राजमार्गका सयौँ स्थान क्षतविक्षत हुँदा सवारी आवागमनमा कठिनाइ भइरहेको छ । मेची राजमार्ग, धरान–धनकुटा राजमार्ग कुरूप बन्दै गइरहेका छन् । तमोर करिडोर, मध्य पहाडी लोकमार्गको काम सुस्त छ । यतातिर पनि कोशी सरकारले ध्यान दिनुपर्ने देखिन्छ । वास्तवमा प्रदेशका सम्भावनालाई पहिचान गरेर दिगो विकासको अवधारणामार्फत सरकारले काम गर्न सकेको खण्डमा कोशी प्रदेश समृद्ध हुन्छ ।

  

Author

युवराज गौतम