• १३ साउन २०८१, आइतबार

बाल सुधार गृहका बालबन्दीको निःशुल्क उपचार गरिने

blog

बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधार गृह । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २७ गते । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।

बाल सुधार गृहमा रहेका बालकहरूको उपचारको उचित व्यवस्था नभएकाले अबदेखि दुई वटा अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको हो । 

बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँको अध्यक्षतामा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । 

उहाँले त्यसका लागि भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला बालन्याय समितिका बिचमा लिखित सम्झौता गर्ने सहमति भएको बताउनुभयो ।  बालन्याय समितिको बैठकमा केन्द्रीय परिपत्र अनुसार दुवै अस्पताल र समिति बिचमा छिटै लिखित सम्झौता भई कार्यान्वयनमा ल्याइने भएको छ । 

बालन्याय समितिको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतम, बाँके जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बालमनोबिज्ञ सुदिप भट्टराई लगायतको सहभागिता थियो ।

समितिको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, सहायक जिल्ला न्यायाधीवक्ता भानु चौधरी, भेरी अस्पतालका डा प्रतिभा खड्का, नेपालगन्ज मेडिकल कलेजका डा. रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरू सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरुणकुमार सिंह लगायतको पनि सहभागिता थियो ।

यसअघि जयन्दु बाल सुधारगृहमा रहेका बालकहरूलाई गम्भीर किसिमको छाला सङ्क्रमण भई विभिन्न समस्या आएको र बेला बेलामा भारईरल फ्लु लगायत विभिन्न रोगहरू लाग्ने गरेकोले नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था नहुँदा समस्या हुने गरेको जनाइएको छ । अहिले आएर नेपालगन्जका दुई ठुला अस्पतालले निःशुल्क उपचार र स्वास्थ्य परीक्षण गर्ने सहमति बनेकोले अबदेखि बालकहरूको स्वास्थ्य उपचारमा सहजता हुने नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो ।