• २ जेठ २०८१, बुधबार

दाङमा २६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान

blog

लीलाधर वली

घोराही, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय दाङले चार महिनाको अवधिमा २६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ । गएको मङ्सिर महिना यता जिल्ला प्रशासन कार्यालय दाङबाट २६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

सरकारले नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेसँगै मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि जिल्लामा गैरआवासीय नागरिकता लिने क्रम बढेको प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, "गैरआवासीय नागरिकले पनि नेपाली नागरिकता लिन मिल्ने व्यवस्था बनेपछि जिल्लामा नागरिक लिने क्रम बढेको छ ।"

विदेश बस्ने र उतैको नागरिक भएपछि नेपाली नागरिकता त्याग गर्ने भने ३२ जना रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यो सङ्ख्या विगत पाँच वर्षको रहेको समेत प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभएको छ । प्रशासकीय अधिकृत बस्नेतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अस्ट्रेलिया बस्दै आउनुभएका घोराही उपमहानगरपालिका–१७ निवासी किशोर आचार्यले पहिलो गैर आवासीय नागरिकता लिनुभएको थियो ।

त्यसैगरी २०७५ सालमा बेलायत बस्दै आउनुभएकी राप्ती गाउँपालिका निवासी तुलसा बुढाले नेपाली नागरिकता त्याग गर्नुभएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।