• ४ जेठ २०८३, सोमबार

पाल्पामा विद्यार्थीलाई माटो परीक्षणसम्बन्धी प्रशिक्षण

blog

प्रशिक्षण कार्यक्रम अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य राना । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), जेठ ४ गते ।
पाल्पामा प्रतिनिधिसभा सदस्यले माटो परीक्षणसम्बन्धी अभियान सुरु गर्नुभएको छ । जिल्लाका ३७ वटै वडामा माटो परीक्षण गरी “माटो सुहाउँदो एक वडा–एक कृषि बाली उत्पादन” अभियान सञ्चालन गर्ने उद्देश्यअनुसार पहिलो चरणमा विद्यार्थीलाई माटो परीक्षणसम्बन्धी प्रशिक्षण दिइएको हो ।

कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेका चार विद्यालयका विद्यार्थीलाई “मेरो सांसद, मेरो अधिकार” कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पा, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको समन्वयमा प्रशिक्षण दिइएको हो । रामपुरमा आयोजित कार्यक्रममा रामतुलसी मावि रामपुर, जनकल्याण मावि रम्भा, उद्दबुद्ध मावि पूर्वखोला र जनता मावि निस्दीमा अध्ययनरत १६० विद्यार्थी सहभागी थिए ।

प्रतिनिधिसभा सदस्य सन्दिप रानाले नेपाल कृषि प्रधान देश भएकाले आफ्नै उत्पादनले घरपरिवारको अन्न आवश्यकता पूरा गर्न माटो परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई जोडिएको र पछि कृषकसम्म अभियान विस्तार गरिने जानकारी दिनुभयो ।

उहाँले रैथाने बाली हराउँदै जानु तथा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले माटोको गुणस्तरमा असर परेको उल्लेख गर्दै स्वस्थ खाद्य उत्पादनका लागि माटोको उपचार आवश्यक रहेको बताउनुभयो ।

कृषिमा आत्मनिर्भरता बिना देशलाई समृद्ध बनाउन नसकिने बताउँदै रानाले भन्नुभयो, “देशलाई समृद्ध बनाउन पहिले आफ्नै परिवारलाई पुग्ने अन्न आफैं उत्पादन गर्न सक्नुपर्छ।” उहाँले गाउँमै उत्पादन घट्दै गएको र बाहिरी आयातमा निर्भरता बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालयका कृषि विज्ञ कपिल पाण्डेले माटो परीक्षणको महत्वबारे जानकारी दिँदै विद्यार्थीलाई किसानसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारण माटोको अवस्था बिग्रँदै गएको अवस्थामा यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।

रामतुलसी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान प्रदान हुँदा कृषकलाई समेत सहयोग पुग्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई यस्तो कार्यक्रमले थप हौसला प्रदान गरेको उल्लेख गर्नुभयो ।

प्रशिक्षणका क्रममा कृषि ज्ञान केन्द्र पाल्पाका नायब प्राविधिक सहायक रबिन बुढा, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे तथा कृषि प्राविधिकहरूले माटो नमुना सङ्कलन र परीक्षण प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।