• १३ साउन २०८१, आइतबार

नाम्खामा दादुरा रुबेलाविरुद्धको खोप कार्यक्रम चैत १ गतेबाट

blog

राजन रावत

हुम्ला, फागुन २६ गते ।  जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्यक्रम आगामी चैत १ गतेबाट हुने भएको छ । हिमपातले आवतजावत गर्ने अधिकांश खोप केन्द्रको बाटो बन्द भएका कारण खोप कार्यक्रमपछि सारिएको हो ।

शुक्रबारबाट सञ्चालन भएको दादुरा रुबेलाविरुद्धको खोपअन्तर्गत उत्तरी नाम्खा गाउँपालिकामा भने चैत्र १ गतेबाट हुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनुभयो  । हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसक्ने भएका कारण खोप कार्यक्रम सञ्चालन नभएको हो ।

संयोजक लामाले गाउँपालिकाका १५ वटै खोप केन्द्रमा शुक्रबार खोप कार्यक्रम सुरु हुन नसकेको बताउनुभयो । शाखाले भ्याक्सिन बुझेको भए पनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको जनाएको छ । नाम्खा गाउँपालिकामा १६८ जना खोप लगाउने बालबालिका रहेका छन् ।

लिमीमा वैशाख अघि खोप कार्यक्रम नहुने

यसैगरी, जिल्लाकै लिमीको हल्जी गाउँमा वैशाख अघि खोप कार्यक्रम नहुने भएको छ । लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले आफू लिमीमै बसेर सेवा प्रदान गरी रहेको भएपछि यस पटक दादुरा रुबेलाविरुद्धको खोप लगाउन नसकिएको जानकारी दिनुभयो ।

उहाँले लिमी आउने दुवै नाकामा चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु हिमपातले बन्द भएका कारण भ्याक्सिन ढुवानी गर्न नसकिएका कारण खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो । यो खोप मात्र हैन बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नसकिएको उहाँको भनाइ छ । लिमीका तीन तील, हल्जी र जाङ गाउँमा १३ जना बालबालिका रहेका छन् । लिमीका लागि भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरे पनि व्यवस्था हुन सकेको छैन ।