शेरबहादुर राई
ओखलढुङ्गा, फागुन २६ गते । ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना घटेका छन् । चार दिनमा मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कारको घटना भएका छन् ।
जिल्लाको मोलुङ गाउँपालिका–२ ढुस्केकी ३७ वर्षीय निर्मला दर्जीको निधन भएको हो । छिमेकीको विवाहमा गई अत्यधिक मदिरा सेवन गरी घर फर्किनु भएकी दर्जीको राति सुतकै ठाउँमा निधन भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक बहादुर केसीले बताउनुभयो । अत्यधिक मदिरा सेवनका कारण दर्जीको ज्यान गएको भनिए पनि पोष्टमार्टम रिपार्ट आएपछि मात्र कारण यकिन हुने प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । मृतक दर्जीका श्रीमान् छवि दर्जीका अनुसार उहाँ आठ महिनाको गर्भवती हुनुहुन्थ्यो ।
यसैगरी, जिल्लाकै खिजिदेम्बा गाउँपालिका–६ का २८ वर्षीय दिलबहादुर तामाङको भीरबाट लडेर ज्यान गएको छ । घरदेखि करिब ५०० मिटर टाढा भीरखर्कको गोरेटो बाटोदेखि २०० मिटर तल तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसका साथै मानसिक अवस्था ठिक नभएकी ४५ वर्षीया महिला बलात्कारमा पर्नुभएको छ । उक्त घटनाको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–६ का ३७ वर्षीय रुद्र बहादुर तामाङलाई पक्राउ गरेको छ । मानसिक स्वास्थ्य अवस्था असामान्य भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तामाङलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
चिशंखुगढी गाउँपालिका–१ कुईभीर ओखलढुङ्गाको केराबारी जङ्गलमा लागेको आगो बस्ती पस्दा एक घर जलेर नष्ट भएको छ । यामबहादुर राई बस्दै आउनु भएको आशबहादुर राईको कच्ची घर जलेर नष्ट भएको हो । राईको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको तीन तले घर, घर भित्र रहेको अन्तपात, लत्ता कपडा र नगद ७० हजार जल्दा करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । आगलागीमा मानवीय क्षति नभएको तर घरमा रहेका १० वटा कुखुरा जलेर मरेका छन् भने एउटा सुङेगुर घाइते भएको छ ।