• १३ साउन २०८१, आइतबार

दुई हजारभन्दा बढी बालबालिकाले लगाउन पाएनन् खोप

blog

गोलन्जोर गाउँपालिका–३ स्थित धेद्रे खोप केन्द्रमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन २६ गते ।
 सिन्धुली जिल्लामा हालै सञ्चालित दादुरा–रुबेला खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका उक्त खोप लगाउनबाट छुटेको पाइएको छ ।

उक्त अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्ष उमेर समूहका २१ हजार ७४ जना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य भएकोमा विभिन्न समस्याले दुई हजार १३० जना बालबालिका छुटेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार यही फागुन १५ देखि १९ सम्म सञ्चालन भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १८ हजार ९४४ जना बालबालिकाले उक्त खोप लगाएका छन् ।

खोप लगाउने अभियान सञ्चालन भएको बेला लक्षित समूहका बालबालिकामध्ये कसैलाई ज्वरो आएको, कसैले विविध समस्याका कारण औषधी खाइरहेको भेटिएकाले त्यस्ता बालबालिका खोप लगाउनबाट छुटेको कार्यालयका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।

‘‘अब छुटेका बालबालिकालाई नियमित खाप सञ्चालन भएको बेला दादुरा–रुबेलाविरुद्धको पनि खोप लगाउँछौँ,’’ उहाँले भन्नुभयो, ‘‘जिल्लाका नौ वटा पालिकामध्ये प्रत्येक महिना १ देखि ५ गतेसम्म तीन वटा पालिकामा र १० देखि १५ गतेसम्म छ वटा पालिकामा नियमित खोप सञ्चालन हुँदै आएको छ ।’’

उहाँका अनुसार उक्त अभियानअन्तर्गत दादुरा–रुवेलाको सङ्क्रमणलाई न्यूनीकरण गर्न जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकामा गरी ३४७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको थियो । जिल्लामा नियमित खोप केन्द्र २२९ वटा छन् ।

उक्त अभियानमा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन ३४७ जना स्वास्थ्यकर्मी र ६९४ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।