• १० मंसिर २०८१, सोमबार

प्रगतिमा महिला फुटबल

blog

पुरुष फुटबलको चर्चाबिच नेपाली महिला फुटबल सधैँ छायामा रहने गर्दछ । फुटबललाई पुरुषको खेलका रूपमा लिने भएकाले पनि होला, महिला फुटबलको त्यति चर्चा हुँदैन तर केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला फुटबलले बिस्तारै आकर्षित गर्न थालेको छ । महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा लगातार उपलब्धिसहित समर्थकलाई महिला फुटबलसँग जुड्न बाध्य बनाउँदै छ ।

यही फागुन महिनाको तेस्रो साता नेपाली महिला फुटबल टिम साउदी अरबमा सम्पन्न वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर स्वदेश फर्कियो । टिमको स्वागतमा घरेलु फुटबलका ठुलाठुला हस्ती र बाक्लो सङ्ख्यामा समर्थक विमानस्थल पुगे । विगतमा नेपाली महिला फुटबल टिम स्वदेश फर्कंदा यस्तो स्वागत हुँदैनथ्यो । नेपाली महिला फुटबल टिम यसको हकदार पनि छ । वाफ महिला फुटबल च्याम्पियनसिपमै नेपालको महिला राष्ट्रिय टिमले ठुलै चर्चा पाएको थियो ।  अहिलेसम्मको उच्च स्तरको उत्कृष्ट फुटबल खेलेपछि नेपाली महिला फुटबलरको नेपालमा मात्र होइन, खाडी मुलुकमा पनि निकै वाहवाही भएको थियो । पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ फुटबल च्याम्पियनसिपमा नेपाल आमन्त्रित टिमका रूपमा सहभागी भएको हो । फाइनलमा उपाधिको सँघारमा रहेर पनि जोर्डनसँग टाइब्रेकरमा रोकिएपछि नेपालले ट्रफी उचाल्न भने सकेन तर यस टिमले नेपाल महिला फुटबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ ।

प्रतियोगितामा नेपाल पाँच पटकको विजेता तथा फिफा वरीयतामा नेपालभन्दा धेरै अगाडि रहेको जोर्डनसँग मात्र हारेको थियो, त्यो पनि फाइनलमा । उपाधि भिडन्तसम्मको यात्रामा नेपालले सिरियालाई ४–१, इराकलाई ५–०, प्यालेस्टाइनलाई ४–० र सेमिफाइनलमा लेवनानलाई २–१ ले पराजित ग¥यो । यी सबै खेलमा नेपालले सहज जित हात पा¥यो । फाइनलमा पनि जितको सँघारमा नेपाल थियो । 

सविता राना मगरले खेल आधा घण्टा पनि नपुगेकै बेला गोल गरेपछि सो गोलले नेपाल च्याम्पियन बन्नेतर्फ अग्रसर थियो तर नेपाल अन्तिम समयमा सम्हालिन सकेन । खेल सकिनै लाग्दा जोर्डन दुई गोल गरेर खेलमा फर्कियो । नेपालले पनि इन्जुरी समयमा पेनाल्टीमा गोल गरी खेललाई टाइब्रेकरमा पु¥यायो तर सो रोमाञ्चक, नाटकीय र सनसनीपूर्ण फाइनलको पेनाल्टी सुटआउटमा अमृत जैसी असफल हुँदा नेपालको महिला फुटबलकै इतिहासमा पहिलो पटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो ।  नेपालले उपाधिको खुसी मनाउन सकेन, त्यो बेग्लै कुरा भयो । यद्यपि फाइनलमा मात्र होइन, नेपालले हरेक खेलमा आफ्नो स्तरीय खेलबाट सउदी अरबको रङ्गशालामा उपस्थित र युट्युबबाट हरेक खेल नियाल्ने लाखौँ दर्शकलाई मन्त्रमुग्ध भने पारेको थियो । नेपालले खेलेको फाइनल खेल चार लाखभन्दा बढीले युट्युबमा प्रत्यक्ष हेरेका थिए । वाफमा नेपाली महिला खेलाडीले टिमवर्कमा सानदार फुटबल खेलेको हो । यद्यपि सावित्रा भण्डारी साम्बा, प्रीति राई र अनिता बस्नेतको विशेष वाहवाही भयो । 

साम्बाले चार खेलमा नौ गोलसहित सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जित्नुभयो । सावित्राले फाइनल खेल्नुभएको थिएन । उहाँ आबद्ध फ्रान्सेली क्लब एन अभान्ट ग्वगाम्पाले फिर्ता बोलाएपछि उहाँ प्रतियोगिता छोडेर युरोप उड्न बाध्य बन्नुभएको थियो । फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र क्लबले खेलाडी रिलिज गनुपर्ने बाध्यता छ । वाफ च्याम्पियनसिपका समूह चरणको खेल मात्र फिफाको विन्डोमा रहेका थिए । त्यसले पनि नेपाललाई घाटा भयो ।

१८ वर्षीया प्रीति भविष्यमा नेपाली महिला फुटबललाई हाँक्न सक्ने फुटबलरका रूपमा उदाउनुभयो । प्रीतिले लेवनानविरुद्ध इन्जुरी समयमा डिबक्सबाहिरबाट सशक्त प्रहारमार्फत गोल गरी नेपाललाई फाइनलमा पु¥याउनुभयो तर सो गोलले मात्र होइन, सो प्रतियोगितामा जसरी नेपालको मिडफिल्डको नेतृत्व गर्नुभयो र वास्तविक प्लेमेकरका रूपमा उदाउनुभयो ।  यस प्रतियोगिताबाट प्रीतिले आफ्नो नाम थप उँचो पार्नुभएको छ । प्रीतिले नेपालकी मेसीको नाम पनि पाउनुभयो । फाइनलमा पनि घाइते भएर प्रीति मैदानबाट बाहिरिनुअघि नेपाल उपाधिनजिक थियो । यसै गरी अनिता बस्नेतले सिरियाविरुद्धको खेलमा कर्नरबाट इन्स्विङ प्रहारमार्फत सिधै गोलपोस्टमा बल छिराएर नेपाललाई पछिसम्म सम्झनलायक क्षण दिनुभयो ।

नेपालको महिला फुटबल टिमलाई हरेक प्रतियोगितामा उपाधिको दावेदारका रूपमा लिइन्छ । यद्यपि अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको साढे तीन दशक लाग्दा महिला फुटबलले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । नेपाल फाइनलमा हारेको यो ११ औँ पटक हो । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक नेपाल उपाधि भिडन्तमा निराश बन्दै आएको थियो । 

यद्यपि यस पटक वाफ च्याम्पियनसिपमा उपविजेतालाई पनि नेपाली महिला फुटबलको गौरवपूर्ण यात्रा मानिएको छ । अहिले फुटबल पण्डितहरू नेपाललाई महिला विश्वकप फुटबल खेल्न सक्ने टिमका रूपमा पनि हेर्न थालेका छन् । जुन हचुवाको भरमा भनिएको पनि होइन । विगतमा दक्षिण एसियामै रुमलिइरहेको नेपाली महिला फुटबल अब यस क्षेत्रबाट माथि उठिसकेको छ । 

उदाहरणका रूपमा ठ्याकै एक वर्षअघि भएको महिला ओलम्पिक फुटबल छनोटलाई पनि लिन सकिन्छ । सो समय नेपालले भियतनामसँग महिला ओलम्पिक फुटबल एसियन छनोट खेलेको थियो । हुन त नेपाल दुवै खेलमा पराजित भयो तर विश्वकपमा खेलेको भियतनामलाई नेपालले दुवै खेलमा टक्कर दिएको थियो । दुई वर्षअघि उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप–२०२२ छनोटमा त नेपाल फिलिपिन्सविरुद्ध जितको सँघारमा थियो तर अन्तिम समयमा दुई गोल बेहोरेपछि फिलिपिन्सविरुद्धको खेल ऐतिहासिक जितबाट नेपाल वञ्चित भयो । अझ सो खेलमा चोटका कारण नेपालकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उपस्थिति थिएन । गत जुलाई–अगस्तमा भएको विश्वकप महिला फुटबलमा भियतनामसँगै फिलिपिन्सले पनि सहभागिता जनाएको थियो । यसको अर्थ सम्बन्धित निकायले विशेष योजना ल्याएमा नेपाली महिला फुटबलले पनि चाँडै विश्वकप खेल्न सक्छ भन्ने नै हो । अहिले फुटबल विश्लेषकहरू पुरुष फुटबल टिमले भन्दा महिला फुटबल टिमले नेपाललाई धेरै अन्तर्राष्ट्रिय सफलता दिलाउने कुरा गरिरहेका छन् तर करिब दुई दशक गतिविधि शून्य रहेको नेपाली महिला फुटबल टिमले अहिले अन्तर्राष्ट्रिय फुटबलमा बनाएको स्थान हेर्दा आश्चर्य लाग्न सक्छ । सन् १९८६ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । त्यसपछि सन् १९८९ र १९९९ मा दुई पटक नेपालले एसियाली महिला फुटबल प्रतियोगितामा भाग लियो । त्यसपछि १२ वर्ष नेपाली महिला फुटबल शून्य नै भयो । 

नेपालले लामो समयको अन्तरालपछि एकै पटक श्रीलङ्काको कोलम्बोमा भएको दसौँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनायो । यसबिच नेपाली महिला फुटबलले उमेर समूहका केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । सन् २००६ मा श्रीलङ्कामा भएको दक्षिण एसियाली खेलकुदपछि भनी नेपाली महिला फुटबल टिम एक्कासि चर्चामा आएको हो । सो सागमा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा एक मात्र गोल भएको थियो । जुन गोल सन् १९९९ मा पेमा लामाले गर्नुभएको थियो तर दसौँ सागपछि त नेपाली महिला फुटबल टिमको कायापलट नै भयो । यसअघि एक मात्र गोल गर्ने नेपालले सो प्रतियोगितामा पाँच खेलमा १७ गोल गरेको थियो । त्यसपछि नेपाली महिला फुटबलले फर्केर हेरेको छैन भन्दा हुन्छ । 

अहिले नेपाली महिला फुटबलरहरू विदेशी लिगमा पनि मजाले बिक्छन् । भारतीय महिला लिगमा अहिले पनि नेपालका सात खेलाडी आबद्ध छन् । सावित्रा त फ्रान्सकै शीर्ष डिभिजन लिग क्लबबाट खेल्दै हुनुहुन्छ । यति ठुलो व्यावसायिक लिगमा खेल्ने उहाँ नेपालकै पहिलो खेलाडी हनुहुन्छ । 

अब नेपाली महिला फुटबलको कायापलट गर्न नेपाली फुटबलको थिङ्क टैङ्क एन्फा विशेष रूपमा गम्भीर हुनुपर्ने भएको छ । भन्न त एन्फाले महिला फुटबलका लागि मिसन विश्वकप २०२७–३१ प्रोजेक्टको योजना बनाएको छ तर पछिल्लो पटक राष्ट्रिय लिग नै बिचमै टुङ्ग्याएको दृष्टान्त पनि हामीकहाँ नभएको होइन । महिला फुटबलको स्तर अझ उठाउन घरेलु संरचना नै बलियो हुनु पर्छ ।  एन्फाले लगातार खेल्ने वातावरण तयार पार्नु पर्छ । विदेशी लिगमा खेलाउने पहल गर्नु पर्छ । अन्यथा अहिलेको जोस शिथिल हुन बेर लाग्दैन । किनभने महिला खेलाडीलाई पुरुषलाई जस्तो सहज छैन । सामाजिक बाधा अड्चनले महिलाले खेलमा लाग्न ठुलो हिम्मत गर्नु पर्छ । महिला खेलाडीको खेल जीवन पनि पुरुषको तुलनामा निकै कम हुन्छ । यी कुरालाई मनन् गरेर एन्फाले आफ्नो योजना अगाडि सार्नु पर्छ ।