• १३ मंसिर २०८१, बिहिबार

एकै दिन दुई सय बढी भारतीय पर्यटकले गरे कैलाश मानसरोवर दर्शन

blog

हवाई जहाजबाट देखिएको कैलाश मानसरोवर। तस्बिर सौजन्य : केशव न्यौपाने।

सिराज खान 

नेपालगन्ज, फागुन २५ गते। महाशिवरात्रि पर्वको अवसर पारेर हवाई जहाजमार्फत शुक्रबार एकै दिन दुई सय भन्दा बढी भारतीय धार्मिक पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराइएको छ। 

महाशिवरात्रीको अवसरमा शुक्रबार श्री एयरलाइन्सको जहाजबाट ६ वटा चार्टर्ड उडान गरेर दुई सय भन्दा बढी भारतीय र केही नेपाली धार्मिक पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराइएको हो। 

श्री एयरलाइन्स नेपालगन्जका प्रमुख चेतन केसीले भारतीय ट्राभल कम्पनी ट्रिप टु टेम्पल्सको समन्वयमा श्री एयरलाइन्सका ६ वटा चार्टर्ड उडान गरेर महाशिवरात्रीको अवसरमा दुई सय बढी भारतीय पर्यटकलाई एकैदिन कैलाश मानसरोवर घुमाइएको बताउनुभयो। 

उहाँले कैलाश मानसरोवरको दूरदर्शन गरेर भारतीय धार्मिक पर्यटक अत्तिनै रोमाञ्चित भएको जनाउँदै ती मध्ये अधिकांशले फेरि पनि मानसरोवर दर्शन गर्ने वाचा गरेर फर्किएको बताउनुभयो। 

कैलाश मानसरोवर दर्शनका लागि नेपालगन्जबाट शुक्रबार ६ वटा चार्टर्ड फ्लाइट गरिएको थियो। शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेकोले सो व्यवस्था मिलाइएको श्री एयरलाइन्सले जनाएको छ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेलिकप्टरमा गएर हिल्साबाट दुई दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गरेका थिए। 

नेपालगन्जको पर्यटन गतिविधि बढाउन तथा बढी भन्दा बढी भारतीय पर्यटकलाई तान्ने उद्देश्यका साथ नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवरको दूरदर्शन गराउन सुरु गरिएको पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो। 

उहाँले कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि हवाई जहाज मार्फत दूरदर्शन गराइने नयाँ गन्तव्यको रूपमा नेपालगन्जलाई स्थापित गरिने बताउनुभयो। 

श्री एयरलाइन्सको माउन्टेन फ्लाइटकै कारण भारतीय पर्यटक ठुलो सङ्ख्यामा अहिले नेपालगन्ज आउँदा नेपालगन्जका होटेल भरिभराउ भएका छन्।

पर्यटन व्यवसायी तथा सिद्धार्थ भ्यु होटल सञ्चालक केशव न्यौपानेले कैलाश मानसरोवर दूरदर्शनको उडानले होटलले राम्रो व्यापार पाएको बताउनुभयो।  

उहाँले भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा माउन्टेन फ्लाइट मार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो।