रमेश विश्वकर्मा
गुल्मी, फागुन २५ गते । गुल्मीमा अविवाहित नागरिकलाई सम्मान गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत सम्मानित हुनुभएका ३४ जना अविवाहित महिला पुरुषमध्ये ३० जनालाई जनही एक हजारका दरले निर्वाह भत्ता समेत प्रदान गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम शीर्षकमा विनियोजित भएको बजेटबाट गत साउनदेखि पुससम्म १८ जना अविवाहित महिला र १६ जना अविवाहित पुरुषलाई सम्मान गरिएको छ । त्यस अवसरमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले लोककल्याणकारी राज्यको अवधारणा स्वरूप सामाजिक संरक्षणको लागि प्रयास गरिएको बताउनुभयो । उहाँले बजेटले भ्याएसम्म रकम थप गरी वितरण गरिने भन्दै आगामी दिनमा बैङ्क खातामा जाने व्यवस्था मिलाउने बताउनुभयो ।
समावेशितालाई साकार रूप दिनुका साथै गाउँपालिका सबैको साथमा छ भन्ने आभास दिलाउन यो प्रयास गरिएको अध्यक्ष थापाले बताउनुभयो। ४० वर्ष पुगेका अविवाहित महिला र ४५ वर्ष पुगेका अविवाहित पुरुषलाई सम्मानसहित सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।