• १९ असार २०८१, बुधबार

महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु

blog

अमरराज नहर्की

तनहुँ, फागुन २५ गते । तनहुँको दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको अनसनचौतारी, खुलाचौरमा फागुन २७ गते सम्म चल्ने छ । 

मेला महिला उद्यमी सङ्घ नेपाल, तनहुँको आयोजना गरिएको हो । महिलाहरू परापूर्वकालदेखि नै उद्यमशीलतामा जोडिएपनि व्यवस्थित बजारीकरणको अभाव भएकोले अघि बढ्न कठिन भएकाले बजारीकरणमा सहयोग पुर्‍याउन मेला गरिएको महिला उद्यमी नेपाल तनहुँको सभापति निर्मला मल्लले बताउनुभयो । मेलामा ३० वटा स्टलमा माहिलाद्वारा उत्पादित सामग्री बिक्रीको लागि राखिएको सङ्घकी महासचिव सरूँ श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामानहरू हस्तकला, ढाकाकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरू, खाद्यान्न सामग्री, साबुन, फिनेल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, परालको गुन्द्री, गुँदको गुन्द्री, विभिन्न आर्टहरू राखिएको छ । प्रदर्शनीको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । 

सो अवसरमा सांसद श्रेष्ठ यस्ता मेलाले उत्पादनको बिक्रीको लागि सहज हुने, उद्यमशील बनाउन उत्प्रेरणा जगाउने, बिचौलियाको अन्त्य हुने तथा प्रचारप्रसार हुने हुँदा भविष्यमा बिक्रीको सहज हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा सांस्कृतिक कार्यक्रम राखिएको छ भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलाको उद्घाटन गर्नु अघि र्‍याली निकालिएको थियो । अनसनचौतारीबाट निकालिएको र्‍याली दमौली बजारको परिक्रममा गर्दै पुनः अनसनचौतारी, खुलाचौरमा आएको थियो ।