काठमाडौं, फागुन २४ गते। शिवरात्रिको अवसरमा भक्तजनको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरेको छ।
बिहीबार बिहान १० बजेदेखि शनिबार बिहान ६ बजेसम्म हेल्थडेक्स स्थापना गरेर सेवा प्रदान गरिने छ।
भक्तजनको सुविधालाई ध्यानमा राखेर डाक्टर सहितको एम्बुलेन्ससमेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको छ।
भक्तजनलाई सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँ नै उपचार गरिनेछ भने थप उपचार चाहिएमा एम्बुलेन्समार्फत नेपाल एपीएफ अस्पताल बलम्बु ल्याइने छ।
यसैगरी शिवरात्रि अवधिभर २६ गतेसम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा एक हजार तीन सय बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ हुनेछ।
पशुपतिनाथ परिसरमा डिएसपीको नेतृत्वमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने सशस्त्र प्रहरी बल वारुणयन्त्र रामिहटी बौद्ध बाट दमकल सहितको फौज तैनाथ गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।