• २१ वैशाख २०८१, शुक्रबार

लाल सागरको आतङ्क

blog

लाल सागरमा आतङ्क बढेको छ । यमनको हुथी विद्रोही समूहले त्यहाँ भएर आवतजावत गर्ने मालवाहक पानीजहाजमा आक्रमण गरेसँगै विश्व व्यापार नै प्रभावित भएको छ । गाजा क्षेत्रमा हमासमाथि इजरायलले चरम दमन गरेको भन्दै यो समूहले लाल सागरमा मालवाहक पानीजहाजमाथि आक्रमण गरी आतङ्क सिर्जना गरिरहेको छ । 

हुथीले इजरायली मालवाहक पानीजहाजमा मात्र आक्रमण गर्ने भने पनि हमला त्यसमा मात्र सीमित रहेन । अन्य मालवाहक  पानीजहाज पनि आक्रमणको निसानामा परेपछि ठूला पानीजहाज कम्पनी असुरक्षाको कारण लाल सागरको मार्ग परिवर्तन गर्न बाध्य भएका छन् । जसले गर्दा अहिले त्यहाँ ढुवानी शुल्क अत्यधिक बढेको छ । ढुवानी शुल्क बढेसँगै मालसामानको मूल्यवृद्धि हुनु स्वाभाविकै हो । 

हुथी अखडामा हवाई आक्रमण

लाल सागरको यो अवरोध हटाई व्यापारिक मार्ग सहज बनाउने भन्दै अमेरिका र बेलायतले हुथी विद्रोहीका विभिन्न अखडालाई लक्षित गरी हवाई आक्रमण गरेका छन् । अमेरिकाका राष्ट्रपति जोए बाइडेनले लाल सागरमा हुथी विद्रोहीले गत नोभेम्बरयता पानीजहाजमा  गरिरहेको आक्रमणको प्रतिक्रियास्वरूप हवाई आक्रमण गरिएको बताएका छन् । खासगरी हुथीको बन्दोबस्तीका केन्द्र, वायु प्रतिरक्षा प्रणाली र हतियार गोदामलाई लक्षित गरी आक्रमण गरिएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एयर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन् । हवाई आक्रमणमा नेदरल्यान्डस्, अस्ट्रेलिया र बहराइनबाट पनि सहयोग भएको छ ।


बदला लिने चेतावनी

आफूमाथि आक्रमण भएपछि क्रुद्ध बनेको हुथी विद्रोहीले यसको बदला लिने चेतावनी दिएको छ । हुथी उपविदेशमन्त्री हुसेन अल–इजीले अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । हुथीका हेलिकोप्टरले लाल सागरमा मालवाहक जहाजहरूमाथि निगरानी गर्ने गरेका छन् ।  

अमेरिका र बेलायतको हवाई आक्रमण यमनको राजधानी सनासहित लाल सागरमा हुथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित हुथीको पकड क्षेत्र सद्दामा केन्द्रित गरिएको छ । यस आक्रमणबाट हुथी विद्रोही मारिएको र उनीहरूको अखडामा क्षति पुगेको छ । 

अमेरिकी युद्धपोतले हुथी विद्रोहीलाई लक्षित गरी टमहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सनासहितका विभिन्न स्थानमा आक्रमण गरेको अमेरिकाको भनाइ छ । साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हुथीका दुई वटा अखडामा गरेको आक्रमण प्रभावकारी बनेको अमेरिकाको दाबी छ । 

यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हुथी विद्रोहीले लाल सागर हुँदै इजरायलतर्फ जाने पानीजहाजलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेको छ । आफूमाथि हवाई आक्रमण भएपछि हुथी विद्रोहीले लाल सागर हुँदै इजरायल जाने सबै पानीजहाजलाई निसाना बनाउने चेतावनी दिएको छ । गत नोभेम्बरमा हुथीले इजरायली स्वामित्व जोडिएको एउटा मालवाहक  पानीजहाज अपहरण गरेको थियो । पछिल्ला दुई महिनामा रकेट र ड्रोन प्रयोग गरेर अन्य धेरै व्यावसायिक पानीजहाजमा पनि आक्रमण गरिएको छ । 

गत अक्टोबर १९ मा गाजामा इजरायली जवाफी कारबाही तीव्र बन्दै गर्दा हुथीले पनि इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । लाल सागरमा रहेको अमेरिकाका युद्धपोतले त्यसमध्ये केहीलाई बीचमै नष्ट गरिदिएको थियो भने कतिपय ती रकेट इजिप्टसम्म पुगेका थिए । 

मालवाहक पानीजहाज कब्जा

नोभेम्बरमा हुथीले इजरायलको भएको दाबी गरिएको एउटा मालवाहक पानीजहाज लाल सागरमा कब्जा गरी यमनको तटीय क्षेत्रभन्दा पर लगेर राखे । डिसेम्बर ३ यता हुथीले यमनको तटीय क्षेत्रबाट कैयौँ व्यावसायिक पानीजहाजमा ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेका थिए । अमेरिका, बेलायत र फ्रान्सका युद्धपोतले त्यसमध्ये धेरैलाई रोक्न सफल भए पनि केही जहाजमा भने निसाना लागेको थियो ।

लाल सागरको मार्ग परिवर्तन 

विश्वको सबैभन्दा ठूलो सिपिङ कम्पनी मेडिटरेनिअनले आफ्ना सबै पानीजहाजलाई लाल सागरको मार्ग प्रयोग नगर्न भनेको छ । यस्तै फ्रान्सेली कम्पनी सिएमए सिजिएम, डेनमार्कको मास्र्क, जर्मनीको हापाग–लोयड र तेल कम्पनी बिपी पनि यस्तै निर्णयमा पुगेका छन् । 

अमेरिकाले हुथीबाट भएको यस्तो आक्रमणलाई इरानले सघाएको आरोप लगाएको छ । उसले व्यावसायिक सिपिङको सुरक्षाका लागि जलसेनाको छुट्टै कार्यदल बनाउन प्रस्ताव गरेको छ ।

यमनको सिया मुस्लिम अल्पसङ्ख्यक जाइदीको सशस्त्र समूह हो हुथी । सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरिएको थियो । यसको नाम आन्दोलनका संस्थापक हुसेन अल हुथीबाट राखिएको छ ।

सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हुथीले अमेरिका र इजरायलविरुद्ध कडा चेतावनी दिएको थियो । इरानको सहयोगमा  रहेको यो समूहले अमेरिका, इजरायल र पश्चिमा देशहरूको प्रतिरोधी कित्तामा हमास र हेज्बुल्लाहसँगै आफूहरू पनि रहेको घोषणा गरेको छ । यो समूहलाई अहिले इरानले हतियार र आर्थिक सहयोग गरिरहेको छ ।

पश्चिमी सैन्य कारबाहीसँगै लाल सागरमा हुथी विद्रोहीबाट थप अवरोध हुने र त्यसबाट इन्धनको मूल्य वृद्धिका साथै आपूर्ति शृङ्खला बिग्रिने त्रास बढेको छ । विश्वमा सामुद्रिक मार्गबाट हुने कुल व्यापारको १५ प्रतिशत लाल सागरमा निर्भर छ । जुन स्वेज नहरबाट भूमध्यसागरसँग जोडिएको छ । युरोप र एसियालाई जोड्ने यो सबैभन्दा छोटो सामुद्रिक मार्ग हो ।

लाल सागरमा व्यावसायिक जहाजमाथिको आक्रमणको योजना बनाउने काममा इरान गहन रूपमा सहभागी भएको आरोप अमेरिकाको छ तर इरानले यसको खण्डन गरेको छ ।

साउदीको  सैन्य साथ पाएका तत्कालीन राष्ट्रपति सालेहले सन् २००३ मा हुथी विद्रोहीलाई उन्मूलन गर्ने प्रयास गरेका थिए तर हुथीले सालेह र साउदी दुवैलाई परास्त ग¥यो । सन् २०११ को अरब क्रान्तिसँगै राष्ट्रपति सालेह सत्ताच्युत भएपछि एकाएक हुथीको प्रभाव बढेको थियो । सन् २०१४ देखि हुथी विद्रोही यमन सरकारविरुद्ध गृहयुद्धमा होमियो । हुथीविरुद्ध नाम मात्रको यमन सरकारलाई साउदी अरब तथा युएईको नेतृत्वमा अरब मुलुकको गठबन्धनले सहयोग गरिरहेको छ ।

साढे तीन लाख मानिसको मृत्यु

यमन सरकार तथा हुथीबीचको द्वन्द्वका कारण हालसम्म साढे तीन लाख मानिसको मृत्यु भएको र ४० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

हुथी विद्रोहीले आफूलाई लेबनानी सिया विद्रोही समूह हेज्बुल्लाह जस्तै भएको बताउने गरेको छ । अमेरिकी अनुसन्धान संस्था ‘द कम्ब्याटिङ टेरोरिज्म सेन्टर’ का अनुसार सन् २०१४ देखि हेज्बुल्लाहले हुथीलाई व्यापक रूपमा सैनिक विज्ञता तथा तालिम सहयोग गर्दै आएको छ । हुथीले इरानलाई पनि आफ्नो सहयोगी मान्दछ । किनभने साउदी अरब उनीहरूको साझा शत्रु हो ।

सन् २०१९ मा आफ्ना तेल उद्योगमाथि हुथीले गरेको आक्रमणमा पनि इरानले क्रुज मिसाइल तथा ड्रोन सहयोग गरेको आरोप साउदी अरबको छ । हुथीले साउदी अरबमा पनि छोटो दूरीका मिसाइल प्रहार गर्ने गरेको छ भने युएईका विभिन्न लक्ष्यमा पनि आक्रमण गरेको छ ।

यमनको असहज अवस्था 

यमन अहिले असहज अवस्थामा छ । त्यहाँको अधिकांश भूभाग हुथी विद्रोहीको नियन्त्रणमा रहेकाले अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको आधिकारिक सरकार त्यहाँ छैन । आधिकारिक सरकार त्यहाँको राष्ट्रपतीय नेतृत्व परिषद् हो, जुन अहिले साउदी अरबको रियादमा छ । राष्ट्रपति अब्द्राबुह मन्सुर हादीले सन् २०२२ को अप्रिलमा उक्त परिषद्लाई आफ्नो अधिकार हस्तान्तरण  गरेका थिए ।

यमनका अधिकांश जनता हुथी विद्रोहीबाट नियन्त्रित क्षेत्रमा बस्छन् । राजधानी सना र उत्तरी यमनसँगैको लाल सागर पनि हुथी विद्रोहीको प्रभावमा छ  । यो विद्रोही समूहले कर सङ्कलन र मुद्रा छपाइ पनि गर्दछ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का अनुसार हुथी विद्रोहीको सदस्य सङ्ख्या १२ लाखसम्म पुगेको छ । जसमा सशस्त्र लडाकुदेखि गैरसैनिक समर्थकसमेत छन् ।

   

Author

रामप्रसाद आचार्य