• ११ मंसिर २०८१, मङ्गलबार

महिला मुक्तिका आन्दोलन

blog

विश्वमा महिलाले आफ्ना हकअधिकारबारे आधिकारिक रूपमा आन्दोलन सुरु गरेको उन्नाइसौँ शताब्दीको मध्यदेखि हो । अहिले विकास र सभ्यताले उच्च युरोप, अमेरिकाका विकसित देशभित्रै त्यतिबेला महिलाको अवस्था दयनीय थियो । महिलाको दिनचर्या घरभित्र मात्र सीमित थियो । पुरुषको अनुमतिबिना घरबाहिर निस्कनसमेत पाउँदैनथे । शिक्षाको अधिकार थिएन । चुनावमा पुरुषसरह भोट दिने अधिकारबाट पनि उनीहरू वञ्चित थिए । अधिकांश महिलालाई अधिकार के हो र किन प्राप्त गर्नु पर्छ भन्ने नै थाहा थिएन । 

आममहिलाको यो दुरवस्थाप्रति केही चेतनशील र जागरुक महिला भने चिन्तित थिए । तिनै महिलाको निरन्तरको सङ्घर्ष र उनीहरूले सुरु गरेका अन्तर्राष्ट्रिय अभियानका कारण आजको अवस्थामा महिला आइपुगेका हुन् । यस सन्दर्भमा आजभन्दा ११३ वर्षअघिबाट मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले पनि महिलालाई आफ्नो अधिकारप्रति जागरुक बनाउन सघायो । यो दिवसको सन्दर्भमा धेरै महिलाको योगदानको महìव हुँदाहुँदै पनि विशेषतः जर्मनीकी समाजवादी महिला अभियन्ता क्लारा जेट्किनको भूमिका उच्च रहेको छ । अनेकौँ प्रयत्नपश्चात् ८ मार्च १९११ देखि श्रमिक महिला दिवसलाई अन्तर्राष्ट्रिय रूप दिने उनको योगदानको कदर गर्दै उनलाई महिला दिवसकी प्रणेता/जननी भनेर चिनिन्छ । 

सन् १८५७ जुलाई ५ मा जर्मनीको लिपगिजमा क्लाराको जन्म भएको थियो । त्यतिबेला जर्मनीमा महिलालाई मतदानको अधिकार थिएन । पुरुषको अनुमतिबिना घरबाहिर निस्कन पाउँदैनथे । राजनीतिक पार्टीमा सहभागी हुन प्रतिबन्धित थियो । महिलाको त्यो अवस्थाप्रति क्लारा चिन्तित थिइन् । महिला घरधन्दा, चुलोचौको, बालबच्चाको लालनपालन आदिमा मात्र सीमित नभएर अधिकार प्राप्तिको आन्दोलनमा लाग्नु पर्छ भन्ने उनको धारणा थियो । जर्मनीमा समाजवादी राजनीतिको प्रभाव बढेसँगै उनी सन् १८७० देखि राजनीतिमा संलग्न भइन् । समाजवादीहरूको लोकप्रियता बढ्दै गएको देखेर जर्मन सरकारले सन् १९७८ मा समाजवादीमाथि प्रतिबन्ध लगायो । यस क्रममा क्लारा पनि देश छोड्न बाध्य भइन् । 

सन् १८९० मा समाजवादीमाथिको प्रतिबन्ध फुकुवा भएपछि स्वदेश फर्केर राजनीतिमा पुनः सक्रिय भइन् । पार्टीभित्र महिलाको सहभागिता अभिवृद्धिका लागि उनले आवाज उठाइरहिन् । परिणामतः पार्टीका संरचनाभित्र महिलाको दायरा क्रमशः फराकिलो हुँदै आयो । उनकै अगुवाइमा महिला अधिकारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरू निर्माण भए । ती मञ्चमार्फत महिला सम्मेलन आयोजना गरिए । अधिकार प्राप्तिका लागि महिलाको आवाज बुलन्द हुँदै आयो । परिणामतः ११३ वर्षअघि पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरियो । 

हुन त मार्च ८ कै दिनलाई महिला दिवस घोषित गर्नुपर्ने क्लाराको पूर्वयोजना थिएन तर महिलासम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिहरू भने मार्च ८ मै केन्द्रित भएर सञ्चालित भइरहेका थिए । सन् १८७९ मार्च ८ मा उचित पारिश्रमिक र निश्चित कार्यघण्टाको माग गर्दै न्युयोर्कमा श्रमिक महिला प्रदर्शनमा उत्रिए । क्लाराकै प्रयत्नमा सन् १९०७ मार्च ८ मा जर्मनीमा समाजवादी महिलाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गरी श्रमिक महिला सङ्घको स्थापना भयो, जसबाट उनी सचिव चुनिइन् । सन् १९१७ सम्म उनी सो पदमा सक्रिय रहिन् । महिला आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि उक्त सम्मेलन ऐतिहासिक बन्यो । 

सम्मेलनले लैङ्गिक भेदभावबिना महिलालाई मताधिकारको प्रस्ताव पास ग¥यो । सन् १९०८ मार्च ८ का दिन अमेरिकाका गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने महिलाले समानताको माग गर्दै जुलुस निकाले । सोही दिन अमेरिकाको विभिन्न सहरमा महिलालाई दिइने असमान ज्याला, कारखानामा महिलामाथि हुने दुव्र्यवहार आदिको विरुद्ध विरोध प्रदर्शन गरियो । सन् १९०८ मार्च ८ मा न्युयोर्कमा श्रमिक महिलाले मताधिकारका लागि प्रदर्शन पनि गरेका थिए । सन् १९०९ मार्च ८ कै दिन सिकागो सहरमा समान अधिकारको मागसहित महिला हड्तालमा उत्रिए । सोही दिन अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । 

सन् १९१० अगस्त २६–२७ मा १७ देशका श्रमिक र राजनीतिक महिला प्रतिनिधि गरी झन्डै सय जना समाजवादी महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरियो । विभिन्न देशमा महिलासम्बन्धी ठुला कार्यक्रम मार्च ८ कै दिन आयोजना हुँदै आएको परिप्रेक्ष्यमा ८ मार्चलाई हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन क्लारा जेट्किनले सम्मेलनमा प्रस्ताव राखेकी थिइन्, जुन सर्वसम्मत पारित भएर सन् १९११ को मार्च ८ बाट दिवस मनाउन थालियो । पछि संयुक्त राष्ट्रसङ्घले १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष र १९७५–८५ लाई महिला दशक घोषणा गर्दै ८ मार्चलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन आह्नान गरेसँगै दिवसले व्यापकता पाउँदै आयो । 

नेपालमा भने यो दिवस कहिले र कसरी मनाउन थालियो भन्ने विषयमा भिन्न भिन्न मत पाइन्छ । एक थरी २०३३ सालबाट ‘अन्तर्राष्ट्रिय नारी दिवस’ मनाउन सुरु गरेको मान्छन् भने अर्का थरी २०३४ सालदेखि २०४६ सम्म भूमिगत रूपमा नै ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाएको बताउँछन् । यसरी नेपालमा महिला दिवसको नाम र मनाउने सन्दर्भमा फरक मानक स्थापित भएको प्रस्ट हुन्छ, जस अनुसार २०४७ सालमा सरकारी तवरबाट ‘महिला दिवस’ भन्न थालिए पनि २०५८ सालमा महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट ‘श्रमिक महिला दिवस’ भनेर मनाइयो । श्रम कानुन २०७४ को दफा ४१ ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको स्पष्ट किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ का रूपमा ८ मार्चलाई नै मनाउने निर्णय गरेको उल्लेख भएको पाइन्छ । 

महिला दिवस अन्तर्गत यसको नामलाई लिएर हरेक वर्ष मतभेद देखिने गरेको छ । ‘८ मार्च’, ‘महिला दिवस’, ‘नारी दिवस’, ‘अन्तर्राष्ट्रिय महिला दिवस’, ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ जस्ता नाम यस सन्दर्भमा प्रयोग हुने गरेको छ । महिलासम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा अभियान आममहिलाको स्वतन्त्रता र न्यायका खातिर भएकाले सबै खाले महिला यसतर्फ आकृष्ट हुनु सुखद पक्ष हो । त्यसैले अहिले पेसागत सङ्गठनमा रहेकादेखि स्वतन्त्र महिलाले समेत ८ मार्च मनाउने गर्छन् ।

तर क्लारा जेट्किनको पहलमा यो दिवस मनाउने प्रस्ताव पारित हुँदा श्रमिक महिला दिवसको केन्द्रीय लक्षित समूह मानिएका थिए । सत्रौँ, अठारौँ शताब्दीतिर पश्चिमी युरोपमा उत्पादनका लागि उद्योगधन्दा खुलेसँगै महिला पनि कामका लागि घर बाहिर निस्कन थाले तर कामका दौरान उद्योग मालिकद्वारा महिलामाथि गरिने अन्यायको दायरा बढ्दै जान थाल्यो । महिला भएकै कारण हुने शोषण/उत्पीडन, ज्यालामा विभेद, अमानवीय व्यवहारलगायत सवालले उनीहरू पुँजीपतिविरुद्ध आन्दोलित हुन थाले । 

उनीहरूको यो कदमले महिला शोषण, उत्पीडनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सघायो । समाजवादी नारीवादमा विश्वास राख्ने अगुवा महिलाको प्रारम्भिक ध्येय पनि तिनै श्रमिक महिलालाई मुक्ति दिलाउनु थियो । यसरी श्रमिक महिलाले आफ्नो मुक्ति आन्दोलनको प्रतीकका रूपमा यो दिवस अगाडि आएको हो । तसर्थ ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ नै यसको आधिकारिक नाम हुनाको साथै दिवसका वास्तविक हकदार श्रमिक महिला नै हुन् तर नेपाललगायत अधिकांश देशमा यो दिवसले श्रमिक महिलाको जीवनमा खासै प्रभाव पार्न सकेको पाइँदैन । अन्य पेसागत तहका महिला विभिन्न कार्यक्रम गरी दिवस मनाइरहँदा असङ्गठित रहेका आमश्रमिक महिला यो दिवस सम्बन्धमा अनभिज्ञ रहन्छन् । यो दुःखद अवस्था हो । 

दार्शनिक र वैचारिक रूपमा समेत सशक्त क्लारा तथा उनका समकालीन समाजवादी महिला अभियन्ताले महिला मुक्तिको सवाललाई केवल महिला अधिकारको मुद्दाका रूपमा मात्र नहेरी समग्र महिला–पुरुषका लागि राजनीतिक र आर्थिक सुधारको माग गर्ने सामाजिक–आर्थिक सवालको रूपमा विश्लेषण गरे । समाजवादी आन्दोलनले मात्र महिला र श्रमिक वर्गको उत्थान गर्न सक्छ भन्ने मान्यताबमोजिम उनीहरू आन्दोलित थिए र पछिल्लो पुस्तालाई सोही विवेचनातर्फ मार्गनिर्देश गर्दै अगाडि बढे । 

फलतः विश्वमा नारी जागरणमा जति उछाल आएको छ, त्यसमा समाजवादी महिलावादकै भूमिका निर्विवाद मानिन्छ र उनीहरूका विचार संसारभरका महिलाका निम्ति आज पनि पथप्रदर्शक बनिरहेको छ तर पछिल्लो समय समाजवादमा आएको विचलनसँगै यसका विचार, सिद्धान्त र व्यवहार पनि खस्कँदै जानुको परिणति समाजका हरेक क्षेत्रले बेहोरिरहेको छ । श्रमिक महिलाकै नाममा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको ११३ वर्ष बितिसक्दा पनि उनीहरूका अवस्थामा आमूल परिवर्तन आउन नसक्नु दुःखदायी विषय हो ।

   

Author

उषा थपलिया