• १६ वैशाख २०८१, आइतबार

‘महाजात्रा’ टोली पोखरामा

blog

लेखनाथ , फागुन २४ गते । नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मको लागत उठाइसकेको दाबी गर्नुभयो । अब प्रदर्शनका क्रममा हुने आम्दानीले अर्को  चलचित्र बनाउने बानियाँले उल्लेख गुर्नभयो । 

तीन करोड ३८ लाखमा बनेको यो चलचित्र देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउने छ । महाजात्राको प्रिमियर सो पोखरामा आयोजना गर्ने उहाँको भनाइ छ । अभिनेता हरिवंश आचार्यले महाजात्रामा आफूलाई दिइएको भूमिकालाई न्याय गर्न भरमग्दुर प्रयास गरेको सुनाउनुभयो । 

चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले जात्रा, जात्रैजात्रा हुँदै महाजात्रासम्म आइपुग्दा मनोरञ्जनका साथमा केही सन्देश दिने गरी काम गरेको जनाउनुभयो । “चलचित्र हेर्दा मनोरञ्जन त हुने नै छ, केही फरक सन्देश बोकेर दर्शक हलबाट निस्किऊन् भन्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो । हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, रवीन्द्र झाले अभिनय गर्नुभएको छ ।