बोमलाल गिरी
नवलपुर, फागुन २२ गते । नवलपुरमा एक हप्ताको अन्तरालमा २ वटा दुर्लभ पाटे बाघ मारिएको भए पनि बाघको मृत्युको कारण र मार्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । डिभिजन वन कार्यालय कावासोतीको ढिलासुस्तीका कारण बाघको पोस्टमार्टम रिपोर्ट आउन ढिलाइ भएको हो ।
बाघ मृत्युको तथ्य र कारण पत्ता लगाउन डिभिजन वन कार्यालयले अधिकृत तोकेरै अनुसन्धान प्रक्रिया अघि बढाएको भए पनि अनुसन्धानमा प्रगति देखिएको छैन । डिभिजन वन नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाएको भए पनि रिपोर्ट कहिले आउँछ भनेर भन्न नसकिने बताउनुभयो । ‘पोस्टमार्टम रिपोर्ट आएको छैन, हामीलाई रिपोर्ट आउन केही समय लाग्छ भन्ने जवाफ आएको छ, अनुसन्धान अगाडि बढाएका छौँ’, अधिकारीले भन्नुभयो ।
फागुन ४ गते मध्यविन्दु–१० आरुणखोलाको जङ्गलमा र फागुन १२ गते मध्यविन्दु–१५ को नवदुर्गा सामुदायिक वनमा दुईवटा दुर्लभ पाटेबाघ मरेको अवस्थामा भेटिएका थिए । ४ गते मृत भेटिएको बाघको पोष्टमार्टम समेत नगरी जङ्गलमै गाडिएको थियो । तर चर्को दबाबपछि फागुन ५ गते खाल्डोबाट निकालेर पोष्टमार्टका लागि नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौँमा पठाइएको थियो ।
यहाँबाट पठाएको १७ दिनपछि मात्र पोष्टमार्टमको नमुना काठमाडौँमा पुगेको छ । फागुन २१ गते सोमबार मात्रै नमुना प्रयोगशालामा पुगेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले जानकारी दिनुभयो । झाका अनुसार अबको १५ दिन भित्रमा मृत्युको कारण सहितको रिपोर्ट डिभिजन वन कार्यालयलाई दिइने छ । ‘उहाँहरूले कहिले कसरी पठाउनुभयो त्यो थाहा भएन, प्रयोगशालामा हिजो मात्रै नमुना आइपुगेको छ, अबको १५ दिन भित्र हामी रिपोर्ट दिन्छौँ’, झाले भन्नुभयो ।
५ गते मृत फेला परेको बाघ विषाक्त खानाको कारण र १२ गते मारेर गाडिएको अवस्थामा भेटिएको बाघ करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो । बाघलाई करेन्ट लगाएर मारेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले समेत अनुसन्धान अगाडी बढाएको जनाएको छ । बाघ गाडेको आसपास पासो थाप्नका लागि बनाइएको डोबहरू फेला परेको र घटनास्थल नजिकै (करिब ५÷६ सय मिटर) विद्युत लाइन भएकाले त्यहीबाट हुक गरेर थापिएको पासोमा बाघ मरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । प्रहरीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको र अनुसन्धानलाई अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मी बताउनुभयो ।
‘बाघको तस्करी गर्नभन्दा पनि बदलेँ, हरिण लगायतका जनावर मार्न थापेको पासोमा परेर बाघ मरेको हुन सक्छ, प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ, नतिजा चाडै आउने विश्वास छ’, रेग्मीले भन्नुभयो ।