• २७ वैशाख २०८२, शनिबार

मदरसा शिक्षालाई आधुनिक प्रविधिसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना

blog

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे
लुम्बिनी, वैशाख २७ गते ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुस्लिम समुदायका बालबालिकाको पठनपाठनलाई थप प्रभावकारी बनाउन मदरसा शिक्षालाई प्रविधिको प्रयोग गरी आधुनिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजना तथा प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समिति लुम्बिनी प्रदेशको समन्वयमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री तिमिल्सिनाले पछाडि परेका समुदायलाई शैक्षिक क्षेत्रमा अघि बढाउन मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिनुभयो ।

लैङ्गिक समानता र हकहीतका लागि शैक्षिक सुधार आवश्यक भएकाले मुस्लिम समुदायका महिलाहरूको समानता र हकहीतमा विशेष ध्यान दिइएको उहाले बताउनुभयो ।

शिक्षा क्षेत्रमा मुस्लिम समुदायका पछाडी पारिएका र पठनपाठनबाट बञ्चित भएकाहरूलाई मूलप्रवाहीकरणका ल्याउन मदरसा बोर्ड गठन गरी काम गरिरहेको भनाइ उहाँले जानकारी दिनुभयो ।

मन्त्री तिमिल्सिनाका अनुसार, लुम्बिनी प्रदेशमा पाँच सय १० वटा मदरसा विद्यालय छन् । जसमध्ये, रूपन्देहीमा एक सय ३५ वटा छन् । रुपन्देहीपछि कपिलवस्तु र बाँकेमा छन् । 

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त निर्देशक नारायणप्रसाद पोखरेलले मदरसा शिक्षाको विकास, ऐन कानुन निर्माण, गुणस्तर सुधारलगायतका विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।