• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा दोस्रो कपिलवस्तु अस्पताल

blog

कपिलवस्तु अस्पतालमा आयोजना गरिएको कार्यक्रम । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), फागुन २२ गते ।
 जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो ।

न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले कपिलवस्तु अस्पताललाई ९४ प्रतिशत अङ्कसहित प्रदेशमा दोस्रो भएको घोषणा गर्नुभएको हो । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो भएको बताउनुभयो ।

टोलीले दुई दिन अस्पतालको सबै पक्षको अनुगमन र मूल्याङ्कन गरी अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शिता लगायतका विषय समेटेर मूल्याङ्कन गरेको हो । अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा देशभरका सेकेन्डरी समूह ‘ए’अन्तर्गतका अस्पतालमा राम्रो सेवा दिइरहेको उहाँले बताउनुभयो । उहाँले अस्पताल प्रमुखसहित कार्यरत सम्पूर्ण कर्मचारीको लगनशीलताका कारण आउनेछ महिनामा प्रदेशमै प्रथम हुने सम्भावना रहेको बताउनुभयो ।

कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विपिन जैसवालले अझै केही कुरामा सुधार गर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ती सबै कुरा सुधार गरेर आगामी वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्ने लक्ष्यमा काम गरिरहेका छौँ ।”

आउने दिनमा अस्पतालमा डायलिसिस लगायतको सेवा सञ्चालनमा ल्याउने उहाँको भनाइ छ । उहाँले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनुभयो ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा सुशासन, नियमित रिपोर्टिङ लगायत ७ सय २१ सूचकहरूलाई मूल्याङ्कन गरिएको हो  । अस्पतालले जनताका लागि प्रभावकारी सेवा दिनुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्यालले बताउनुभयो । अस्पतालले हासिल गरेको उपलब्धिलाई कायम राख्दै आगामी दिनमा प्रदेशमै मुलुकमै उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

यहाँका चिकित्सक लगायतका टिम, आम नागरिक लगायतले गरेको सहयोगबाट यो सफलता पाएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले नागरिकको सहजताका लागि पालिकाले स्वास्थ्य बिमा बापतको आधा रकम दिँदै आएको बताउनुभयो ।

त्यसैगरी, प्रथम भएको बर्दिया अस्पतालले ९६ अङ्क ल्याएको छ । तेस्रो स्थान रहेको भैरहवाको भीम अस्पतालले ९० अङ्क ल्याएको छ । कपिलवस्तु अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकृत रत्नाकर शुक्लले गर्नुभएको थियो ।