• १३ साउन २०८१, आइतबार

लालबन्दीमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

blog

जनार्जन खत्री

सर्लाही, फागुन २२ गते । सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा पहिलो पटक शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु गरिएको छ । 

अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर सीएस अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा सुरु गरेको अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायले जानकारी दिनुभयो । डा. रायका अनुसार सोमबार साँझ पहिलो पटक सिराहाको मिर्चैया घर भई सिन्धुलीको क्यानखोलास्थित माइती घरमा बस्दै आउनुभएकी १९ वर्षीया चण्डिका मगरको सीएस गरेर प्रसूति गराइएको छ । 

मगर नगर अस्पताल लालबन्दीमा प्रसूति गराउन भनी एक सातादेखि लामबन्दीस्थित आफन्तको डेरामा बस्दै आउनुभएको थियो । उहाँलाई तीन दिनदेखि प्रसव व्यथा लागे पनि प्राकृतिक हिसाबले प्रसूति नभएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको डा.रायले बताउनुभयो । 

“उहाँको प्रसूति हुने म्याद १० दिन नाघिसकेको र तीन दिनदेखि प्रसव बेथा लाग्दा पनि बच्चा जन्मिन सकेन, हामीले बेथा बढाउने औषधि चलाउँदा समेत सामान्य ढङ्गले प्रसूति हुन सकेन,” डा. रायले भन्नुभयो, “त्यसपछि हामीले परिवारसँग सल्लाह गरेर सीएस गर्ने निर्णय गर्‍यौ र पहिलो शल्यक्रिया सेवा सफल रूपमा सम्पन्न भएको छ ।” मगरले तीन किलो ४०० ग्रामको शिशु (छोरी) लाई जन्म दिनुभएको छ । 

अस्पतालका इन्चार्ज डा. रायसहित एनेस्थेटिष्ट अनिल कापर, ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा सुरु भएकोसँगै यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । 

स्थानीय अगुवाले यस सेवालाई निरन्तरता दिन नगरपालिका कार्यालयसँग माग गरेका छन् । लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै अब बाल रोग विशेषज्ञको व्यवस्था गर्न लागिपरेको बताउनुभयो । 

“पहिलो पटक शल्यक्रिया सफल भएकोमा हामी अत्यन्त खुसी छौँ, यसलाई अझ प्रभावकारी र नियमित गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्दै जान्छौँ,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “अस्पतालमा तत्कालै बालरोग विशेषज्ञ समेत नियुक्त गर्ने वा भएका स्वास्थ्यकर्मीलाई तालिम दिएर भए पनि प्रसूति सेवालाई प्रभावकारी बनाउन लागि परेका छौँ ।” प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई गएको पुस २७ गते स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाइएको थियो । 

अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक राखेर सेवा सुधार गरिएसँगै बिरामीको चाप बढ्न थालेको छ ।