• ११ मंसिर २०८१, मङ्गलबार

कानुनमा व्यक्तिका अधिकार र कर्तव्य

blog

कानुनी व्यक्ति र प्र्राकृतिक व्यक्तिको मूल भिन्नता भनेको कानुनी व्यक्तिले कानुनले तोकेको मात्र कार्य गर्न सक्दछ भने प्राकृतिक व्यक्तिले कानुनले निषेध गरेकोभन्दा बाहेक जति पनि कार्य गर्न सक्दछ । विधिशास्त्री साल्मन्डले भने, “व्यक्ति त्यो हो, जसले अधिकार र कर्तव्य पूरा गर्न सक्छ ।” मूलतः व्यक्ति दुई प्रकारका हुन्छन् । कानुनी र प्राकृतिक व्यक्ति । कानुनी व्यक्ति कानुनद्वारा सृजित वा गठित गरिएका हुन्छन् भने प्राकृतिक व्यक्तिमा मानिस पर्छन् । कानुन अनुसार जन्मेका सबै मानिस व्यक्ति भए पनि कानुन अनुसार दायित्व पूरा गर्न सक्ने वा सजायका लागि भागिदार बनाउन सकिनेलाई मात्र कानुन अनुसार दायित्व बेहोर्न बाध्य पार्न सकिन्छ । जस्तो, १० वर्षमुनिका बालबालिकालाई उनीहरूले गरेको अपराधमा सजाय गर्न सकिन्न तर कसैले लगाएको अवस्थामा भने उसले आफैँले गरेसरह लगाउनेलाई सजाय हुन्छ । 

कुनै व्यक्तिको कुनै कुरा वा विषयमा पूर्ण अधिकार हुनका लागि त्यो दाबी गर्न सक्ने अधिकार, त्यो भोग गर्न सक्ने अधिकार, त्यसलाई आफूखुसी प्रयोग गर्ने अधिकार, अन्यलाई रोक्न सक्ने अधिकार र त्यो विषय वा वस्तुप्रतिको अधिकार भएको अवस्था हुनु पर्छ ।  

जिडब्लु पेटनको पुस्तक ‘थ्यौरी अफ पर्सनालिटिज’ मा व्यक्ति, व्यक्तित्व, कर्तव्य र अधिकार जस्ता पक्षमा व्याख्या गरिएका छन् । कसैले कुनै वस्तु वा कुरा दिन सक्ने अधिकार छ भने दिन नसक्ने अधिकार पनि हुन्छ तर दिन नसक्ने अवस्था हो भने त्यो दायित्व हो । बेलायतका साल्मन्डविरुद्ध साल्मन्डको मुद्दामा प्राकृतिक व्यक्ति र कम्पनीबारे व्याख्या गरिएको छ । दार्शनिक कार्नुलुटीले व्यक्तिमा आर्थिक र कानुनी तत्व हुने उल्लेख गरेका छन् । उनले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैमा आर्थिक र कानुनी तत्व निहित रहेको भने । 

हेन्स केल्सनले कानुनी व्यक्ति र प्राकृतिक व्यक्ति दुवैको अधिकार र दायित्व हुने कुरामा जोड दिए । कुनै कुरामा कसैको अधिकार हुनका लागि अरू कसैको त्यसैमा दायित्व भएकै हुनु पर्छ । विधिशास्त्रका ज्ञाता जोन अस्टिनले भने शासक वा सत्तासँग अरूलाई जसरी पनि कर्तव्य लगाउने अधिकार हुने बताएको भए पनि त्यो मान्यतालाई अर्का कानुनविद् एचएलए हार्टले त्यस्तो सिद्धान्तलाई बन्दुके सिद्धान्त (गनम्यान थ्यौरी) भन्दै खरो आलोचना गरिदिए । आइहेरिङले अधिकारलाई ‘कानुनी रूपमा संरक्षित गरिएको हित’ भनी व्याख्या गरे । त्यसैले चन्दा, ऋण, माग, सहयोग आदि व्यक्तिका अधिकार हुन सक्दैनन् । जस्तो, नेपालमा भूकम्प गएको समयमा विदेशी निकाय र व्यक्तिले दिने भनिएको सहयोग नेपालको अधिकार थिएन । त्यसैले सो पैसा उनीहरूले नदिए पनि नेपालले कसैलाई केही गर्न सकेन । यस्ता विषय केवल सार्वजनिक नैतिकताको विषय मात्र हुन पुग्छ । 

व्यक्ति कानुनी र प्राकृतिक हुने भन्ने स्थापित कानुनी मान्यतामा हाल मानव निर्मित कृत्रिम बौद्धिक व्यक्ति (आर्टिफिसियल इन्टिलिजेन्स पर्सन) पनि हुने भन्ने बहसले विश्वमा चर्चा पाएको छ । सन् २०१७ मा हङकङको जोनसन कम्पनीले मान्छे जस्तै स्मरण क्षमता भएको सोफिया नामको कृत्रिम मानिस बनाएको थियो । सोफियाले मान्छे जस्तै बोल्ने, सोच्ने, चिन्ने, प्रतिक्रिया देखाउने आदि गर्ने भएपछि मेसिनलाई पनि व्यक्ति (पर्सन) को दर्जा दिनुपर्ने आवाज त्यतिबेला थप बलियो बन्यो जतिबेला उक्त सोफियालाई साउदी अरबले नागरिकता नै दियो । त्यसपछि कृत्रिम व्यक्तिको सम्बन्धमा विश्वमा एक खालको व्यापक बहस गराइदियो । युरोपेली सङ्घले प्रस्ताव नै पारित गरेर मानिस जस्तै स्वभावको भएको र साउदी अरबले नागरिकता दिएको भए पनि ऊसँग अधिकार, दायित्व, नैतिकता, दयाजस्ता मानवीय पक्षको अभाव रहेको भनेको थियो तर युरोपेली सङ्घले सोफियालाई ‘इलोक्ट्रोनिक पर्सनालिटी’ को संज्ञा दिएको थियो । विद्वान् कोलमेनले त्यसको विरोध गरेका छन् । 

रोमन कानुनमा दासदासीको आफ्नै अधिकार नहुने भएकाले उनीहरूलाई व्यक्तिको दर्जा दिइएन । मानिस जन्मेपछि व्यक्तिको अधिकार सिर्जना हुन्छ भन्ने मानिने भए पनि विकसित सम्पत्तिसम्बन्धी मान्यताले पेटमा भएका मानिसको तथा कतिपय अवस्था र विषयमा मरेपछि पनि व्यक्तिसरहका केही अधिकार सृजित हुने भन्ने रहेको छ । मृतकको शरीर, मृतकको सम्पत्ति मृतकको इच्छा अनुसार कानुनबमोजिम गर्नुपर्ने अवस्था बन्दछ । मृतकको चाहना पूरा गर्नुपर्ने कानुनी तथा नैतिक दायित्व उसको कानुनबमोजिमको हकवालालाई र समाजलाई हुन्छ तर मरेको मान्छेको आफ्नै कर्तव्य भने सकिन्छ । त्यसैले फौजदारी कानुनमा अपराधी मरेसँगै अपराधको पनि मृत्यु हुन्छ भनिन्छ । सम्पत्तिसम्बन्धी विषयमा चाहिँ पेटको बच्चाको समेत अधिकारको सिर्जना हुन्छ । जनावरले दायित्व र कर्तव्य निर्वाह गर्न नसक्ने भएकाले उसको आफ्नै हक र अधिकार बन्दैन, हुँदैन । 

अमेरिकामा चिम्पान्जी थुनिएको मुद्दामा चिम्पान्जीको अधिकार स्थापित हुन सकेन । जनावरमा दुःख र खुसी (पेन एन्ड प्लेजर) को अनुभूति नै नहुने भनियो । मानिसले चिम्पान्जीलाई जसरी व्यवहार गर्न सक्छ, त्यसै गरी उसले व्यवहार गर्नै सक्दैन । तापनि जनावरलाई व्यक्ति मान्न नसकिए पनि क्रूर तरिकाले मार्न र यातना दिन सकिन्न । नेपालको फौजदारीसंहिता ऐन, २०७४ ले पनि सो कुरालाई उल्लेख गरी त्यस्तो कुरा गैरकानुनी हुने भनेको छ । अर्कोतर्फ  गाईगोरु मार्नेलाई मानिस मारेसरहकै सजाय हुने कानुनी व्यवस्था छ । 

मानवशास्त्रीय मान्यता अनुसार सामाजिक दृष्टि र मान्यतालाई महत्व दिने भएकाले एचएलए हार्टले बच्चालाई पनि व्यक्तिको मान्यता दिएका छन् । अधिकार र कर्तव्य, नैतिकता र मूल्य, मानवीयता र मूल्य आदिको सम्मान तथा अनुभूति गर्न सक्ने भएकाले मानिसलाई पहिलो स्तरको व्यक्तित्व (फस्र्ट क्लास पर्सनालिटी) मानिएको हो । संस्थागत व्यक्तित्व (कर्पोरेट पर्सनालिटी) मा कानुनको आँखामा अलग्गै व्यक्तित्व हुनु पर्छ भने मानिसमा आमाको पेटबाट अलग भएपछि त्यो अधिकारको सिर्जना भइहाल्छ । कानुनी व्यक्तित्वको अलग कानुनी अस्तित्व हुनै पर्छ । त्यस अर्थमा कानुनी व्यक्तिले पनि आफ्नै नाममा सम्पत्ति राख्न, आफ्नै नाममा मुद्दा गर्न, मुद्दा खेप्न, अलग्गै छाप र कानुनी अस्तित्व पाउन सक्छ । कम्पनी वा कानुनी व्यक्ति अविच्छिन्न उत्तराधिकारवाला निकाय हो । कम्पनीका सबै सेयर सदस्य मरेर पनि कम्पनी बाँच्न सक्छ । कम्पनी कानुन अनुसार मात्र मर्न (विघटन) सक्छ । 

नेपालको कम्पनी ऐन, २०६३ को दफा २ मा ‘कम्पनी भन्नाले कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीलाई बुझाउँछ’ भनिएको छ । कम्पनी ऐन अनुसार दर्ता भएका कम्पनी ऐन अनुसार नै प्रक्रिया पूरा गरेपछि बन्द (विन्डिङ अप) गर्न सकिन्छ । कम्पनी बन्दपछि दायित्व सकिने भए पनि कतिपय लिनुदिनुसम्बन्धी दायित्व भने रहन सक्छ । मानिस जो जन्मन्छ, उसले आफैँ वा आफ्नो हितमा काम गर्ने व्यक्तिमार्फत आफ्नो अधिकारको सुरक्षाका लागि मुद्दा गर्न वा आवाज उठाउन सक्दछ । कोमामा रहेको वा होसमै नरहेको मानिसले पनि आफ्नो पक्षमा प्रतिनिधिमार्फत मुद्दा गर्न सक्छ । होसमा नभएको स्थितिमा पनि मानिस प्र्राकृतिक व्यक्ति रहन्छ । यो व्यक्तिसम्बन्धी प्राकृतिक सिद्धान्त र मान्यता हो । पागल मानिसको कुनै दायित्व हुन्न बरु त्यस्तालाई उपचार गर्ने दायित्व कानुनी अधिकार भएको मानिसको वा राज्यको हुन्छ । 

जस्तो, जुत्ता बनाउन खोलेको कम्पनीले बन्दुक बनाउन सक्दैन । बैङ्कले सिमेन्ट किनबेच गर्न सक्दैन तर एउटा प्राकृतिक व्यक्ति वा मानिसले कानुनबमोजिम कलेज पढाउन सक्छ, कुनै स्थानमा पसल खोल्न सक्छ, पत्रिकामा लेख लेख्न सक्छ र सोही व्यक्तिले सहकारी पनि खोल्न सक्छ । अधिकारको दुरुपयोग भएमा भने सजाय हुन्छ । कम्पनीमा कानुनले तोकेकोभन्दा भिन्न कामकारबाही भएमा त्यसको पर्दा खोलिन्छ (कर्पोरेट  भेल) र चेकजाँच गरिन्छ र बदमास गर्ने प्राकृतिक व्यक्ति वा मानिसलाई सजाय हुन्छ । जस्तो, अन्नपूर्ण क्यासिनो कम्पनी बन्द गरी सञ्चालकले अलग्गै कम्पनी खडा गरी कामदार आदिको दायित्वबाट पन्छिन खोजेकामा सर्वोच्च अदालतबाट सोही सिद्धान्तको प्रयोग गरी नयाँ कम्पनीलाई पुरानो दायित्व तिर्न बाध्य पारेको थियो । कम्पनीको नाममा व्यक्तिले गर्ने गैरकानुनी कार्यमा व्यक्ति भए जिम्मेवार हुनु पर्छ भन्ने सिद्धान्तका कारण सर्वोच्च अदालतले युनिटी लाइफको मुद्दामा काशीराम गुरुङलगायतलाई दोषी ठहर्‍याएको थियो । 

Author

प्रेमराज सिलवाल