• १३ साउन २०८१, आइतबार

रम्भामा आधारभूत अस्पताल निर्माण सुरु

blog

अस्पतालको भवन शिलान्यास गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २१ गते । जिल्लाको रम्भा गाउँपालिकामा आधारभूत अस्पतालको भवन निर्माण सुरु भएको छ । रम्भा गाउँपालिकाको वडा नं. ५, ताहुँस्थित बाहुनडाँडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु भएको हो । 

अस्पतालको भवन बनाउनका लागि १६ करोड ३७ लाख ८९ हजारमा निर्माण व्यवसायीसँग सम्झौतापछि काम सुरु गरिएको हो । अस्पतालको भवन निर्माण आगामी २०८३ भदौ ५ गतेभित्र सक्ने सम्झौतामा उल्लेख भएको रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जानकारी दिनुभयो । 

अस्पताल निर्माणका लागि स्थानीयवासीले १० रोपनी तीन आना जग्गा दान गर्नुभएको थियो । भवनको शिलान्यास गर्नुहुँदै प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले अस्पताल बनेपछि यस भेगका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उल्लेख गर्नुभयो । रम्भा, हुमिन, फोक्सिङ्कोट, पिपलडाँडा, चिदीपानी लगायतका क्षेत्रका नागरिकले सुविधा पाउनेछन् । 

रम्भा गाउँपालिकाको ताहुँमा आधारभूत स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन नहुँदा टिनको टहराबाट सेवा प्रवाह हुँदै आएको पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो। अस्पताल बनेपछि यस भेगकाा नागरिकलाई सेवा लिन सहज हुने उहाँले बताउनुभयो ।