• १३ साउन २०८१, आइतबार

प्राविधिक कार्यालय प्रमुखसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, फागुन २१ गते । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुगुस्थित तन्दावाडा सिँचाई आयोजना उपभोक्ता समितिमार्फत २०७२ मङ्सिर १३ गतेदेखि आयोजना सुरु गरी २०७३ मङ्सिर १३ मा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा इष्टिमेट अनुसारको काम सम्पन्न नभएको अवस्थामा समेत गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी नभए, नगरेको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ विलहरू प्रमाणित गरी वास्तविक कार्यभन्दा २६ लाख ८२ हजार १४ रुपियाँ बढी भुक्तानी लिई/दिई सार्वजनिक संस्थालाई हानी पुर्‍याएको आरोप लागेको छ ।

इन्जिनियर पाण्डेसहित, सामुदायिक सिँचाइ आयोजनाका इन्जिनियर महेश सिंह कठायत, सब– इन्जिनियर भीमबहादुर रोकाय, साबिकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाइ आयोजनामा खटिएका सर्जनबहादुर शाही, उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही, कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही, परामर्श दातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापाविरुद्ध २६ लाख ८२ हजार १४ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, मुगु सोरूँ गाउँपालिका वडा नं. ९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, साबिक कालै गाविस का सचिव सचिव नव गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय तथा कारबाहीको मागदाबी लिइएको आयोगले जनाएको छ ।