• १३ साउन २०८१, आइतबार

‘हामी मिसन–२०८४ छोडदैनौं’

blog

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, फागुन २१ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरूको उद्देश्य भने नछोड्ने बताउनुभएको हो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गर्नुभयो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन–२०८४ बनेको उहाँको भनाइ थियो ।


‘‘जेसुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छोड्दैनौँ । नेकपा (एमाले)लाई निर्णायक शक्तिको रूपमा परिणत गर्ने हाम्रो उद्देश्य हो । यो मिसन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ  । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो । त्यो मापन निर्वाचनबाट हुन्छ । कति भोट, कति सिट भन्ने कुराले कहाँनिर छ भन्ने देखाउँछ । र त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षले त्यसले देशलाई लिएर जान सक्छ ।’’ अध्यक्ष ओलीले भन्नुभयो, ‘‘जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो । राष्ट्रिय शक्ति, प्रगति चाहने शक्ति निर्णायक भयो भने । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ । देश त्यस्तै अवस्थामा रहन्छ । दुनियाँमा हाम्रा भन्दा अप्ठ्यारा अप्ठ्यारा भौगोलिक, प्राकृतिक, अनेक हिसाबले अप्ठ्यारा ठाउँमा रहेका देश किन अगाडि बढे ? मरुभूमिका देश अगाडि बढे, किन ? हामी किन अगाडि बढ्न सकेनौँ ? न्युजिल्याण्ड अहिले पनि उसको प्रमुख स्रोत कृषि नै हो ।’’


अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति सङ्केत गर्नुहुँदै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गर्नुभयो । विगतमा पनि मुलुकले धेरै ठुलो उपलब्धिहरू हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले मजदुरहरूको न्यूनतम ज्याला पाउने कुरा समेत कानुनमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताउनु भयो । अध्यक्ष ओलीले सहिदहरूका अधुरा सपना पूरा गर्नका लागि आफूहरूले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई अघि बढाएको बताउनुभयो ।