ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २१ गते । म्याग्दी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा युवा व्यवसायी सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न सङ्घको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।
श्रेष्ठ यसअघि सङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम,द्वितीय उपाध्यक्षमा अमित बानियाँ, महासचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतीलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनीयताको सपथ लिन लगाउनुभएको थियो । नवर्विाचित अध्यक्ष श्रेष्ठले उद्योगी व्यवसायीको हकहित र उनीहरुको सुरक्षा, संस्थाको गरिमा बढ्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाको पर्यटन, उत्पादन, कृषि, जडीबुटी, जलविद्युत् र खानीलगायतका क्षेत्रमा लगानी भित्र्याउन र उद्योग व्यवसायको विस्तारमा तीनवर्षे कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्षलगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सर्वसम्मत निर्वाचित समितिलाई थप सक्रियताका साथ अघि बढ्ने जिम्मेवारी थपिएको बताउनुभयो ।