• १४ मंसिर २०८१, शुक्रबार

गाउँमै इँटा उत्पादन

blog

नवलपरासी समाचारदाता

देवचुली (नवलपरासी), फागुन २१ गते । नवलपुरदेखि चर्को ढुवानी गरेर सरकारी कार्यालयदेखि निजी घर बनाउन प्रयोग हुने इँटा अहिले गाउँमा नै बनाउन थालिएको छ । 

जिल्लाको पहाडी बुलिङटार र बौदीकाली गाउँपालिकामा सरकारी कार्यालय र निजी आवास बनाउने क्रम बढ्दो छ । नवलपुरबाट प्रतिगोटा १० रुपियाँ भाडा तिरेर इँटा खरिद गर्न बाध्य भएका स्थानीय सरकार र व्यक्तिले अहिले गाउँमा नै इँटा खरिद गरेर भवन निर्माण गर्न थालेका बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । 

चार वर्षदेखि पहाडी क्षेत्रमा इँटाको प्रयोग बढ्न थालेको हो । स्थानीयले व्यक्तिगत रूपमा र समूह बनाएर इँटा बनाउन थालेपछि गाउँको इँटा राम्रो र सस्तो पर्ने भएकाले इँटा बनाउने अहिले प्रतिस्पर्धा नै चलेको अध्यक्ष जर्घामगरले बताउनुभयो ।

पहाडी गाउँपालिका बुलिङटारमा विगत चार वर्षदेखि आफ्नै निजी जग्गामा इँटा बनाउन थालेका गौतम दरैले अहिले यो पेसालाई निरन्तरता दिइरहनुभएको छ । मङ्सिर, पुसबाट सुरु भएको इँटा बनाउने काम फागुपूर्णिमासम्म हुने गर्छ । फागुपूर्णिमामा इँटा बनाउन आउने मधेशी समुदायका मानिसलाई रकमसहित बिदा दिने दरैले भन्नुभयो । 

गाउँघरमा बनेको इँटा अहिले एक नम्बरको रु. १३ मा पाइने गरेको छ भने त्यही इँटा नवलपुरबाट खरिद गर्दा रु. २३ पर्ने गरेको बौदीकाली गाउँपालिकाका ओम अस्लामीले बताउनुभयो । 

अहिले बुलिङटारको बुलिङटारमा र बौँदीकालीको मचेडी, डेढगाउँ र कुवामा व्यावसायिक रूपमा नै हरेक वर्ष इँटा बनाउने काम हुने गरेको र मधेशबाट मानिस लगेर चार महिनासम्म इँटा बनाउने काममा व्यस्त हुनु परेको अस्लामीले बताउनुभयो । एक घरपरिवारले एक याममा एक लाखसम्म इँटा बनाउने गरेका र सामूहिक रूपमा पाँच जनासम्म मिलेर सात लाखसम्म इँटा बनाउने गरेका बुलिङटारका हरि गौतमले बताउनुभयो । 

“दाउरा सहज रूपमा पाइने भएकाले पनि गाउँमा इँटा पोल्न समस्या छैन,” गौतमले भन्नुभयो । यो वर्ष बुलिङटारमा मात्र ४० लाख इँटा उत्पादन गर्ने लक्ष्य राखिएको छ । इँटा उत्पादक सङ्घ पूर्वी नवलपरासीका अध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भएको र अहिले पहाडी क्षेत्रमा नै इँटा उत्पादन हुने भएपछि नवलपुरमा बजारको समस्या भएको बताउनुभयो ।