• १४ मंसिर २०८१, शुक्रबार

धार्मिक पर्यटकले भरियो पञ्चकोट

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), फागुन २१ गते । बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिक जसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरबाट भक्तजन पञ्चकोट पुग्ने गरेका छन्  । 

फागुन ९ देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञको धार्मिक प्रवचनमा सहभागी हुन, दान गर्न, पूजाअर्चना र दर्शन गर्न देशका विभिन्न जिल्लाबाट दैनिक रूपमा हजारौँको सङ्ख्यामा धार्मिक पर्यटकको आगमन भएको आयोजकले जनाएका छन् । 

शनिबार एकै दिन मात्र करिब ५० हजार भक्तजन पञ्चकोटमा आएको आयोजकले जानकारी दिएका छन् । शनिबार विभिन्न जिल्लाबाट ठुलो मात्रामा भक्तजन पञ्चकोटमा आएका थिए । भक्तजनको भिडसँगै बागलुङदेखि पञ्चकोट पुग्ने सडकसम्म नै सवारीसाधनको लामो लाम लागेको थियो । ट्राफिक कार्यालय बागलुङका अनुसार सानाठुला गरेर शनिबार तीन हजार सवारीसाधन पञ्चकोटमा भित्रिए । 

“शनिबार हामीले अपेक्षा गरेभन्दा धेरै भक्तजन आउनुभयो,” महायज्ञका प्रवक्ता सनातन प्रपन्नाचार्यले भन्नुभयो, “पोखरा, चितवन, काठमाडौँलगायतका जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आउनुभएको छ । भक्तजनको उत्साहजनक सहभागिताले हामीलाई उत्साह पैदा गरेको छ । शनिबार मात्रै करिब ५० हजारभन्दा बढी भक्तजनले महायज्ञको अवलोकन गरेको अनुमान गरेका छौँ ।”

पञ्चकोटको यज्ञमण्डप भक्तजनले भरिएको छ । गण्डकी माताको मन्दिर, हनुमान वाटिका, मुक्तिनाथ महाघन्ट र हनुमानको मूर्तिलगायतका धार्मिक संरचनामा भक्तजनको निकै भिड देखिएको थियो । हनुमानको मूर्ति, १०८ कलश, पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघन्टलगायतका संरचनासँग फोटो र भिडियो खिच्न भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । 

फागुन ९ देखि सुरु भएको महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल आउनुभएको थियो । त्यसयता पञ्चकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू, देशका विभिन्न क्षेत्रका विज्ञ, सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरू पञ्चकोट आइसक्नुभएको छ । साथै देश विदेशबाट समेत धार्मिक पर्यटकको आगमन निकै उत्साहपूर्ण छ । प्रत्येक दिन यहाँ विभिन्न विषयमा सम्मेलनको आयोजना हुँदै आएको छ । 

१५ दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार ५५५ जना कर्ताबाट धान अर्पण गरेर पुरिने छ । १५१ फिट अग्लो विश्व शान्ति गण्डकी कलश करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ ।  कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ । कलश निर्माण गर्न करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । पञ्चकोटमा करिब चार अर्ब रुपियाँ बराबरको धार्मिक संरचना निर्माण गरेर धार्मिक पर्यटकीय ‘हब’ का रूपमा विकास गरिने उद्देश्य छ । 

पञ्चकोटधाम स्थापनाको १० औँ वार्षिकोत्सवका अवसरमा आयोजित महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको महायज्ञका सङ्कल्पकर्ता स्वामी मुक्तिनाथबाबा कमलनयनाचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँ धार्मिक कार्य मात्र भएको छैन, महायज्ञमार्फत हामीले विश्वभर नै नयाँ सन्देश प्रवाह गरेका छौँ । महायज्ञले पञ्चकोटको धार्मिक महìवलाई थप स्थापित गरेको छ ।” पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको महायज्ञका कमलनयनाचार्यले बताउनुभयो ।