• १० मंसिर २०८१, सोमबार

आरोहणमा सहजीकरण

blog

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउने अमूल्य प्राकृतिक उपहार हो । सात दशकअघि सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएपछि सगरमाथामा विश्वकै ध्यानाकृष्ट हुन थाल्यो । सगरमाथा अर्थात् विश्वले चिन्ने माउन्ट एभरेस्टको आरोहण गर्न विश्वकै आरोहीहरूको सपना हुने गर्छ तर सगरमाथा आरोहण सहजै र जो कोहीले सम्पन्न गर्न सक्ने काम होइन । आँटिलो, अनेक अभ्यासका साथै धेरै बन्दोबस्तीका साथ सम्भव हुँदै जाने कार्य हो– सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य । यति हुँदाहुँदै पनि सगरमाथा शिरमा पुग्न चाहने धेरै आरोहीले ज्यानको तिलाञ्जली दिएका छन् । त्यहाँ दुर्घटना हुँदा उद्धार गर्नसमेत कठिन भएको छ । सरकारले यो कार्यलाई सहजीकरण गर्न आधुनिक प्रविधिको प्रयोग गर्ने तयारी गरेको खबरले नयाँ उत्साह भने छाएको छ ।

सगरमाथा आरोहण सुरक्षित बनाउनु नेपालको पहिलो दायित्व हो । यसले नेपालको पर्यटन प्रवर्धनमा विश्वभर सकारात्मक सन्देश दिने छ । त्यसैले सरकारले आरोहण सुरक्षाका निम्ति नयाँ कार्य थालनी गर्ने भएको हो । आरोहणलाई व्यवस्थित तथा सुरक्षित बनाउन अब पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गरिने छ । यो व्यवस्थाले आरोही सङ्कटमा परे बेलैमा उद्धार गर्न सहज हुने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आउँदो वसन्त ऋतुदेखि नै यो व्यवस्था गर्न लागेको हो । चिप्स जडान गर्नु किन पनि जरुरी थियो भने आरोहण क्रममा विगतमा धेरै आरोहीले ज्यान गुमाएका छन् । चर्चित महिला आरोही पासाङल्यामु शेर्पाको आरोहणकै क्रम ज्यान गयो । विसं २०७१ वैशाख ५ गते सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको ज्यान गयो । हिमपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति सगरमाथा क्षेत्रमै हुने गरेको छ । सन् १९२२ देखि २०२० सम्मको अवधिमा सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२० जनाभन्दा बढीले ज्यान गुमाइसकेको विगत छ । 

विज्ञहरूका अनुसार सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाउनेमा बढी जसो हिमपहिरोमै हराउने गरेका छन् । समयमै सूचनाको अभावमा दुर्घटना हुने गरेको छ । आरोही दुर्घटनामा पर्ने, हराउने, लेक लागेर बिरामी हुने जस्ता समस्या आरोहणका क्रममा बारम्बार आइरहन्छ । त्यस्ता समस्या समाधान गर्न सबै आरोहीको पोसाकमा चिप्स जडान गर्दा उद्धार टोलीले समयमै सूचना पाउने छन् । हेलिकोप्टर लगायतमार्फत उद्धार गर्न सहज हुने छ । नयाँ व्यवस्थाबाट हराएका आरोहीको अवस्था पत्ता लगाउनसमेत सहयोग पुग्ने छ । पोसाकमा चिप्स जडान गरिएका आरोही हिमपहिरोमा पुरिएको अवस्थामा पनि डिटेक्टरको मद्दतले उद्धार तथा खोजी कार्यमा सहयोग पुग्ने छ । विगतमा कतिपय आरोही दुर्घटनामा परे पनि हालसम्म बेपत्ता नै छन् । संसारका अनेक मुलुकबाट आएका आरोही आरोहणका क्रममा सगरमाथामै बेपत्ता हुनु पक्कै पनि राम्रो होइन । अब भने त्यस्तो विगत नदोहोरिन सक्छ । 

चिप्सको प्रयोग सगरमाथा क्षेत्रमा नयाँ भए पनि बाह्य मुलुकमा भने यो थालनी भइसकेको अभ्यास नै हो । नितान्त नौलो अभ्यास होइन । नेपालमा मात्र नयाँ प्रयोग हो । यस्तो चिप्सलाई मानव जीवनको रक्षाका लागि उपयोगी मानिन्छ । यस्तो विद्युतीय चिप्स प्रयोग गर्ने सन्दर्भमा पर्यटन विभागले सरोकार सबैसँग परामर्श गरेको थियो । हिमालको व्यवस्थापन र त्यसको सुरक्षाबारे छलफल गरेर नै कार्यान्वयनमा ल्याउन लागेको यो कार्य प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । विद्युतीय चिप्स प्रयोगको विधि पनि तय गरिएको छ । आरोहीले चिप्स प्रयोग गरे, नगरेको बारे सगरमाथा आधार शिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले निगरानी राख्ने छ । अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त यस्ता चिप्सको मूल्य १५ देखि २० अमेरिकी डलर पर्ने र त्यसको लागत आरोहणमा संलग्न एजेन्सीले बेहोर्ने गरी विधि तय गरिने छ । आरोहणमा जाँदा विगतमा आरोहीले मोबाइल वा जिपिएस उपकरण साथमा लिने गरेका थिए तर त्यस्ता उपकरण प्रयोग गर्दै आएका ब्याट्री आरोही आधार शिविर फर्कंदासम्म नटिक्ने, नेटवर्कलगायतका समस्या देखिएको थियो । फलस्वरूप आरोहणका क्रममा दुर्घटना हुँदा खासै काममा आउँदैन थियो । चिप्सको प्रयोगले आरोहण बढी सुरक्षित भई नेपालको पर्यटनको विस्तारमा नयाँ आयाम थपिन सक्ने विश्वास गर्न सकिन्छ ।