• १२ साउन २०८१, शनिबार

हत्या गरेको आरोपमा एक पक्राउ

blog

उर्मिला चौधरीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ परेका रामसिंह थारु । तस्बिर : कोहलपुर प्रहरी

गजेन्द्र गुरुङ

खजुरा, फागुन २० गते । इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

थारुले फागुन १७ गते रातिको समयमा बारबर्दिया नगरपालिका –९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरीलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका –५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएकाले सूक्ष्म रूपमा अनुसन्धान गर्दा रामसिंह थारुलाई नियन्त्रणमा लिइएको र थारुले नै ती महिलाको हत्या गरेको खुलेको प्रनाउ तिवारीले बताउनुभयो । 

मृतक महिला र थारु पहिले प्रेम सम्बन्धमा रहेको तथा पछि दुवै जनाको अलग बिहे भइसकेको कोहलपुर प्रहरीले जनाएको छ । अलग–अलग बिहे भए पनि समय–समयमा दुवै जना भेटघाट गर्दैआएको र आपसी मनमुटाबका कारण थारुले महिलाको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

बाँके जिल्ला अदालतबाट आइतबार पहिलो पटक पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरेको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।