• १२ साउन २०८१, शनिबार

क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन

blog

क्षयरोग उपचार केन्द्र निर्माण गरिने स्थान राप्तीसोनारी गाउँपालिका । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २० गते । पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ । 

बाँकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो । 

राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ । ढिकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । उहाँले क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र विद्यालयले जमिन उपलब्ध गराएपछि अव निर्माणको काम सुरु गरिने बताउनुभयो । 

सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगन्जमा भाडाको घरमा क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएको बजेट पटक-पटक फिर्ता हुँदै आएको थियो । 

क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको नाममा दुई बिघा जमिन प्राप्त भइसकेकाले अब भवन निर्माण सुरु हुने टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगन्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताउनुभयो ।

उहाँले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयले नौ करोड २४ लाखको बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको बताउनुभयो। सो भवनमा तत्कालको लागि २५ शय्याको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था हुनेछ । 

बिस्तारै स्तरोन्नति गर्दै लैजाने योजना रहेको खड्काले बताउनुभयो । अहिले सरकारको सार्वजनिक निजी साझेदारी नीतिअनुसार गैरसरकारी संस्था टिबी नेपालसँगको सहकार्यमा नेपालगन्ज–४ सल्यानीबागमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ ।

भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताउनुभयो । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उहाँको भनाइ छ । "टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन् । बिरामीका कुरुवा बस्ने ठाउँ छैन । शौचालय र पार्किङ व्यवस्थित छैन । अस्पताल सञ्चालनका लागि चाहिने कुनै पनि मापदण्ड पूरा भएको छैन", उहाँले भन्नुभयो ।