• १६ भदौ २०८१, आइतबार

निर्वाचन क्षेत्र रणनैतिक सडकलाई बजेट अभाव

blog

बजेट अभावले निर्माण कार्य सुस्ताएको रणनैतिक सडक । तस्बिर :राजन रावत, हुम्ला

राजन रावत

हुम्ला फागुन २० गते । हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अगाडि बढाएको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेटको अभाव देखिएको छ । 

निर्माण कार्यका लागि आयोजनाले टेण्डरमार्फत निर्माण कम्पनी छनाेट गरेर काम सुचारु गरिसकेपछि भुक्तानीका लागि बजेट अभाव देखिएको हो । 

आयोजनाका लेखा प्रमुख विजय रोकायाले जाड खोल्सीदेखि रिपगार्डसम्मको निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि बजेट अभावले काममा बाधा पुगेको बताउनुभयो ।

आयोजनाले २०७९ साल जेठ १२ गते स्वच्छन्द दावा जेभीसँग सडक निर्माणका लागि सम्झौता गरेको थियो । उहाँले आयोजनाले निर्माण कम्पनीसँग २०८० साल जेठ ११ गते निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक २२ करोड लागत लाग्ने गरी सम्झौता भएको बताउनुभयो । 

सम्झौता भएको दुई वर्ष पुग्नै लाग्दासम्म एक करोड मात्र बजेट निकासा आएका कारण काममा बाधा पुगेको बताउनुभयो । 

आयोजनासँग आएको एक करोड बजेट सबै निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ । निर्माण कम्पनीले आयोजनामा पेश गरेको बिल भरपाई अनुसार अझै पाँच लाख रुपियाँ भुक्तानी दिन नसकिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार बजेट नआएका कारण सडक निर्माण कार्य सुस्ताएको छ । हालसम्म निर्माण कम्पनीले नौ किलोमिटर सडक निर्माण गरिसकेको छ । 

असारसम्म पाँच करोड लागत लाग्ने काम निर्माण कम्पनीले गर्ने अनुमान आयोजनाले गरेको छ । उहाँले निर्माण कार्य बढी भएको तर आयोजनामा बजेट नभएको कारण साढे चार करोड बजेट माग गरिएको भए पनि हालसम्म विभागबाट अख्तियारी नआएको बताउनुभयो । 

निर्माण कम्पनीका प्रतिनिधि कुलबहादुर लामाले काम अनुसार भुक्तानी नभएका कारण काम अगाडि बढाउने नबढाउने दोधारमा रहेको उहाँको भनाइ छ ।  

उहाँका अनुसार बजेटको व्यवस्था समयमै भए सम्झौता अवधि अघि नै काम सम्पन्न गर्न सकिने बताउदै उहाँले तर बजेट आउने अत्तोपत्तो नभएको कारण अन्याेल छाएको छ । 

 नाम निर्वाचन क्षेत्र रणनैतिक सडक भए पनि बजेटको व्यवस्था नगरिएका कारण नाम अनुसार नसुहाएको उहाँले बताउनुभयो । सडकको लम्बाइ २१ किलोमिटर छ ।