• १६ भदौ २०८१, आइतबार

बर्दीबासमा चौबीस हजारलाई दादुरा रुबेलाविरुद्ध खोप

blog

बर्दीबास नगरपालिका कार्यालय । तस्विर:रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २० गते । बर्दीबास नगरपालिकाले फागुन २२ गतेदेखि २९ गतेसम्म दादुरा–रुबेला विरुद्धका खोप कार्यक्रम सुरु गर्ने भएको छ । 

नगरपालिकाले लक्षित उमेर समुहका करिब २४ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी लक्ष्य लिएको नगर स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो । 

 भौगोलिक दृष्टिले महोत्तरीको सवैभन्दा ठूलो बर्दीबास नगरपालिकामा १४ वडा छन् ।उहाँका अनुसार यसका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ७९ विद्यालयमा खोप केन्द्र निर्धारण गरिएको छ भने तालिमप्राप्त ४० जना स्वास्थ्यकर्मी खटाइएको छ । 

साथै खोप कार्यकर्ता तथा स्वयंसेवक गरी दुई सय जनशक्ति परिचालन गरिएको पासवानले बताउनुभयो ।  भौगोलिक विषमता रहेको बर्दीबासको सुदूर उत्तरी भेगका विकट बस्तीमा खोप अभियान सञ्चालन गर्नु चुनौतीपूर्ण छ । यसका लागि सम्बद्ध वडाध्यक्ष, वडा सदस्य, स्थानीय शिक्षक लगायतको सहयोगमा विशेष व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । छिमेकी नगरपालिका गौशालामा गतवर्ष दादुराको प्रकोप चलेकोले बर्दीबास यसको उच्च जोखिममा रहेको हुँदा लक्षित उमेर समूहका कुनै बालबालिका नछुटुन् भनी भरपर्दो व्यवस्था मिलाइएको पासवानको भनाइ छ । 

नगरक्षेत्रमा खोप अभियानको आवश्यकता र नागरिक समाजको दायित्वको विषयलाई लिएर नगर स्वास्थ्य शाखाले वडाध्यक्ष र सदस्यहरु, शिक्षक, स्वास्थ्यकर्मी, धर्मगुरु, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुसँग छलफल तथा परामर्श जारी राखेको छ ।

सबै केन्द्रमा औषधि पुर्‍यायाउने व्यवस्था मिलाइनुका साथै खोपको प्रभावकारिता कायम राख्न भाइल खोलेको १ घण्टाभित्र खोप लगाइसक्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको पासवानले जानकारी दिनुभयो ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले विश्व स्वास्थ्य सङ्गठनले सुरु गरेको विश्वव्यापी अभियानबारे जानकारी गराउँदै लक्षित उमेर समूहका सबै बालबालिकालाई सहज ढङ्गमा खोप लगाउन नगरपालिकाले वडादेखि टोल बस्तीसम्म प्रचार प्रसार र सचेतीकरण जस्ता अभियानलाई तीव्रता दिएकाे बताउनुभयो ।