• १२ साउन २०८१, शनिबार

सुके पोखरी भौँतारिन्छन् प्यासी जन्तु

blog

यादवराज पुरी

रौतहट, फागुन १९ गते । वन्यजन्तुलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन भएपछि प्यासी जनावर पानीको खोजीमा भौँतारिन बाध्य छन् । 

वन्यजन्तु पानी र आहाराको खोजीमा मानव बस्तीमा नआउन् भनेर रौतहटको वन क्षेत्रमा बनाइएका ११ वटै पोखरीमा पानीको थोपा नभएपछि वन्यजन्तु पानीका लागि भौँतारिँदै नजिकको नदीखोला र बस्तीमा समेत प्रवेश गर्छन् । सिमसार व्यवस्थापन कार्यव्रmम अन्तर्गत जिल्लाको बागमती सामुदायिक वन चन्द्रपुर–१ को वन क्षेत्रमा एउटा, नमुना सामुदायिक वन चन्द्रपुर–२ को वन क्षेत्रमा दुई वटा, खोरकटी सामुदायिक वन क्षेत्रमा एउटा पोखरी निर्माण गरेको थियो । 

यसै गरी धन्सार चक्ला वन क्षेत्रमा एउटा, रङ्गपुर साझेदारी वन क्षेत्रमा चार वटा, जङ्गलसहिया साझेदारी वन क्षेत्रमा दुई वटा गरी ११ वटा पोखरी खनेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी विमल ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिमसार व्यवस्थापन कार्यालयले आर्थिक वर्ष  २०७६-७७ मा छ वटा र २०७७-७८ मा पाँच वटा गरी ११ वटा पोखरी निर्माण गरेको थियो । अहिले कुनै पनि पोखरीमा पानी छैन । 

पानीको स्रोत नै नभएको ठाउँमा पोखरी निर्माण गरिएकाले पोखरी पानीविहीन भएको सरोकारवाला बताउँछन् । पोखरीमा घाँस र बुट्यान सप्रिएको देखिन्छ । पोखरी पुरिएर समतल भइसकेका छन् । चन्द्रपुर–२, जुडीबेलाका किसान अशोक राई भन्नुहुन्छ, “बढ्दो गर्मीसँगै वन्यजन्तु गाउँ पस्न थालेका छन् ।” 

डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार चन्द्रपुर नगरपालिका–१ को पौराई र ब्रह्मस्थान क्षेत्र २ को जुडीबेला, पौराई र फूलबारी–३ को गैँडाटार र भोलनटार– ४ को जङ्गलटोल, ५ को राजपैडा, ६ को डाबरीटोललगायतका गाउँमा हरिण, बँदेल, नीलगार्इं, हात्ती, बाँदरलगायतका वन्यजन्तु प्रवेश गर्न थालेका छन् । जनावरबाट मानवीय क्षति नभए पनि अन्नबाली, तरकारी बाली र दलहन बालीमा क्षति पुगेको गैँडाटारका युवा समाजसेवी सन्तोष चौहानले बताउनुभयो । 

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्रले भन्नुभयो, “रौतहटको वनमा विभिन्न प्रकारका वन्यजन्तु त छँदै छन् तर जिल्लाको पश्चिमतर्फ बाराको वन क्षेत्रसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जबाट समेत यस जिल्लामा वन्यजन्तु चरन गर्न आउँछन् । गर्मीको मौसम छिप्पिँदै गर्दा वन्यजन्तु पानीका लागि वनमा भौँतारिन्छन् । पानी कतै नपाएपछि नदीखोला खोज्दै बस्तीनजिक पुग्छन् र जनधनको क्षतिसमेत हुन जान्छ ।” 

पोखरी मर्मत तथा पानी व्यवस्थापन गर्न कुनै किसिमको बजेट नआएका कारण पोखरी अलपत्र छन् । बिगत तीन वर्षयता वन्यजन्तुको आक्रमणबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने बिघौँ बिघा जमिनको बालीमा क्षति पु-याएको छ ।