• ११ मंसिर २०८१, मङ्गलबार

वनलाई बगैँचा बनाउने अभियान

blog

वन र बगैँचाको अर्थ र महत्व भिन्ना भिन्नै छ । वन भनेको ठुला ठुला रुख भएको क्षेत्र हो, जहाँ घाँस दाउरा पनि गर्न पाइन्छ । बगैँचा भनेका चाहिँ फलफूल लगाइएको ठाउँ हो । यसर्थ वन भनेको विस्तृत र बृहत् हुन्छ । बगैँचा सीमित हुन्छ । केही वर्षदेखि सुनसरीका सामाजिक अभियन्ताहरूले वन र बगैँचालाई एकै ठाउँ राखेर भन्ने गरेका छन्– वनलाई बगैँचा बनाऔँ । यस अभियान अन्तर्गत केही काम पनि गर्दै आएका छन् ।

किन बनाउने वनलाई बगैँचा ?

उदाहरणका रूपमा मोरङ र सुनसरीमा रहेको करिब ६० किलोमिटर लम्बाइको चारकोसे जङ्गललाई लिउँ । केही वर्ष पहिलेसम्म यो जङ्गलमा विभिन्न खाले चराचुरुङ्गी पाइन्थे । आज ती चराहरू जङ्गलमा पाइँदैनन् । पाइए पनि अत्यन्त न्यून सङ्ख्यामा पाइन्छन् । बरु यी चराहरू सहर र गाउँ बस्तीतिरका अशोकका पोथ्रातिर पाइन्छन् । आँप, कटहरका रुखतिर पाइन्छन् । त्यसै गरी केही वर्षअघिसम्म जङ्गलमा बाँदरका विभिन्न प्रजाति पाइन्थे । सेतो फेटा बाँधेका लामपुच्छे« ढेडुहरू पाइन्थे । आजभोलि पाइँदैनन् । बरु बाँदरहरू सहरमा पाइन्छन् तर जङ्गलमा पाइँदैनन् ।

चराचुरुङ्गी र बाँदरको कुरा मात्र होइन, कालिज, सिम कुखुरा, मृग, बनेल, नीलगाई आदिको सङ्ख्या पनि अत्यन्त तीव्र गतिमा घटिरहेको छ । यसको कारण र परिणाम पत्ता लगाएर समाधान खोज्न ढिलो भइसकेको छ । मानिस तथा अन्य प्राणीको जीवन जैविक अन्तरसम्बन्धमा आधारित छ । त्यसै कारण एउटा प्राणीको अनुपस्थितिमा अर्को प्राणीको जीवन सङ्कटमा पर्न जान्छ । यस सम्बन्धमा एउटा उदाहरण प्रस्तुत गरौँ– करिब ४० वर्षअघिको कुरा हो, बङ्गलादेशबाट ठुलो मात्रामा भ्यागुताका खुट्टा जापान निकासी गरियो । पूर्वी पाकिस्तानको रूपबाट भरखर भरखरै स्वतन्त्र भएको बङ्गलादेशलाई यसबाट विदेशी मुद्रा पनि आर्जन भयो तर त्यसको दुष्परिणाम अर्को वर्ष प्रकट भयो । किसानको खेतमा अन्नको परिमाण घट्न गयो । त्यसको कारण खोजियो र पत्ता लाग्यो । बालीनाली नष्ट गर्ने जीवलाई भ्यागुताले खाइदिन्थ्यो । भ्यागुताको सङ्ख्या घटेपछि त्यस्ता जीव बढ्न गए । अनि अन्न बालीको उब्जाउ घट्यो । त्यसपछि भ्यागुता निर्यात गर्ने काम बन्द गरियो ।

मान्छेले प्राकृतिक सन्तुलनमाथि हस्तक्षेप गर्दाको परिणाम थियो त्यो । यसै कारण ‘वनलाई बगैँचा बनाऔँ’ भन्ने अभियान थालेका हौँ भन्छन्– वातावरण संरक्षण अभियान नेपालका अभियन्ताहरू । उनीहरूको निष्कर्ष के छ भने चारकोसे जङ्गलबाट चराचुरुङ्गी विस्थापित हुनुपर्ने मुख्य कारण उनीहरूको आहारा नष्ट हुनु हो । जङ्गलमा जामुन, फडिर, आँप आदि फलफूलका स्रोत बाँकी रहुन्जेल पन्छीको चिरबिर सुनिन्थ्यो तर मान्छे जङ्गल पसेर चराको आहारा मात्र खोसेन, ती फलफूलका बोटसमेत ढालिदियो । 

जङ्गलको छेउछेउबाट हुने अतिक्रमण त छँदै छ । जङ्गलको ठाउँ ठाउँमा रुख काटेर बनेका खाली चौरहरू पनि छन् । त्यस कारण जङ्गली जनावर पनि आफूलाई असुरक्षित ठानेर पलायन भइरहेका छन् । चराचुरुङ्गीलाई चारकोसे जङ्गलमा पुनस्र्थापना गराउन र जीवजन्तुलाई जङ्गलमा सुरक्षाको अनुभूति दिलाउन नै ‘वनलाई बगैँचा बनाऔँ’ अभियान सुरु गरिएको अभियन्ताहरूको भनाइ छ । पशुपन्छीको आहारा सँगसँगै जङ्गलमा मानव निर्मित पानीका तलाउ पनि आवश्यक छ । यसबाट पशुपन्छी र मानवलाई समान फाइदा हुन्छ ।

‘वनलाई बगैँचा बनाऔँ’ का अभियन्ताले पहिलो वर्ष फलफूलका केही हजार बीज चारकोसे जङ्गलमा छरे । बीज जमिनमा परेपछि उम्रिन्छ र उम्रिए पछि बढ्छ नै । छरेका बीजको २५ प्रतिशत मात्र हुर्किए पनि हजार/बाह्र सय फलफूलका बोट हुर्किन्छन् भन्ने आशा थियो उनीहरूमा तर बँदेलका लागि आँपको कोया मिष्टान्न परिकार रहेछ । फलपूmलका बीजमध्ये आँपको कोया बँदेलले खाइदिएछ । बाँकी फलफूलका बीजहरू पनि केले खायो, उम्रिँदै उम्रिएन । अर्को सिजनमा पनि केराका बिरुवा रोपे जङ्गलमा । खुब राम्रोसँग केराका बोट हुर्किए । अब पसाउँछ कि भन्ने बेलामा हात्तीको बथान आयो, केराको हुर्किएका बोट खाइदियो । उनीहरूको यो कार्य पनि असफल नै भयो । गरौँ भन्ने भावना छ तर त्योसम्बन्धी विज्ञता थिएन । त्यसैले अभियानमा असफलता प्राप्त भएको प्रस्टै देखिन्छ ।

अभियन्ताको तेस्रो प्रयास अलि परिपक्व देखिएको छ । उनीहरूले एक वर्षभन्दा बढी समय लगाएर पाँच/छ सय जामुनका बिरुवा हुर्काए । करिब एक मान्छे अग्ला बिरुवा लगेर तरहराको पानीपियादेखि दुई किलो मिटरमाथिसम्म रोपियो । नगरपालिकाको सहयोगमा बिरुवाको संरक्षणका लागि वरिपरि बार लगाइयो । त्यहाँ अहिले एक सयभन्दा बढी बिरुवा हुर्किएको देख्न सकिन्छ । तरहरा वन उपभोक्ता समिति र धरान नगरपालिकाले रोप्न सघाएका केही बिरुवा पनि हुर्किएका छन्, जसले गर्दा चारकोसे जङ्गलमा एक सय पचासदेखि दुई सय जामुनका बिरुवा रुख हुने अवस्थामा छन् । चाँडै फल पनि देलान् र चराचुरुङ्गीलाई जङ्गलमै राख्न पनि सघाउलान् ।

वन र अक्सिजन

वनसँग सम्बन्धित अझ गम्भीर विषय अक्सिजन हो । एउटा मान्छेले २४ घण्टामा एक्काइस हजार पटक सास फेर्छ भनिन्छ । त्यसमा उसले साढे एघार हजार लिटर हावा आफूभित्र लिन्छ । त्यो हावामध्ये २१ प्रतिशत मात्र अक्सिन हुन्छ । यस हिसाबले एक जना मान्छेका लागि दैनिक दुई हजार चार सय लिटरभन्दा बढी अक्सिजनको आवश्यकता पर्छ । एक जना मान्छेका लागि अक्सिजन निसृत गर्ने आठ सय वटा वयष्क रुख चाहिन्छ, जसले दैनिक तीन केजी अक्सिजन उत्सर्जन गर्छ । यो तथ्यले बिहान बेलुका खाने खाद्यान्नभन्दा रुख रोप्नु र रुख जोगाउनु बढी जरुरी छ मानव जीवनका लागि ।

यत्रो अक्सिजनको स्रोत कहाँ छ हामीसँग ? नेपालको जनसङ्ख्या पौने तीन करोड मान्ने हो भने २२ अर्ब रुख चाहिन्छ अक्सिजनका लागि । अक्सिजनको सर्वाधिक ठुलो स्रोत विश्वमै ब्राजिलको अमेजन वर्षा वन हो । यसले सम्पूर्ण विश्वका लागि २० प्रतिशत अक्सिजन उत्सर्जन गर्छ भनिन्छ । वनजङ्गलमाथि मानवले गरेको अतिक्रमणको कारण बाँकी ८० प्रतिशत अक्सिजन आपूर्ति हुने स्रोत तीव्र गतिमा घट्दै गएको छ । हाम्रो मुलुक पनि त्यही घट्दो अवस्थामा छ । गाउँ बस्ती बाक्लिँदै जाँदा पूर्वपश्चिम फैलिएको चारकोसे जङ्गल साँगुरिँदै गएको छ । जङ्गल भनिएको ठाउँमा पनि बाहिरबाट जङ्गल देखिन्छ तर भित्र पसेर हेर्दा खाली जमिन हुन्छ । आजका मान्छे तत्कालको फाइदा मात्र देख्ने भएका छन् । आफ्नै सन्ततिले भोलि कसरी सास फेर्लान् भन्ने कुरा सोच्नै सक्दैनन् ।

जसले कैलाश मानसरोवरको यात्रा गरेको छ । उसलाई अक्सिजनको मूल्य थाहा हुन्छ । त्यहाँ अक्सिजन किन छैन भने त्यहाँ वनस्पति छैन । हिउँ छ, पानी छ तर प्राण छैन । रुखबिरुवा मात्र होइन, झार पनि छैन, दुबो पनि छैन । ब्रह्मपुत्र (तिब्बती भाषामा मारलुंगत्संग्यो) बग्ने पठारमा ५०/६० किलोमिटरको दरले चिसो हावा चल्छ तर हावा चल्ने बित्तिकै अक्सिजन हुने रहेनछ । कैलाश मानसरोवरको यात्रामा अक्सिजन सिलिन्डर बोकेर जानु पर्छ प्राण बचाउनका लागि । ५,७०० मिटर उचाइको डोल्मा पास नाघेर कैलाश पर्वत परिक्रमा गर्ने शक्ति हँुदैन सबैसँग । धृष्टता गर्नेहरूको प्राण जान सक्छ । अक्सिजनको न्यूनताका कारण नै यस्तो हुने हो ।

अहिलेभन्दा पहिले पर्यावरणबारे गहन चिन्ता लिएको देखिन्छ । राष्ट्रिय निकुञ्ज, सिकार आरक्ष, संरक्षण क्षेत्र स्थापना गरेर वन, वन्यजन्तु र चराचुरुङ्गीको संरक्षणमा ध्यान दिएको पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा आरक्षण प्राकृतिक सन्तुलनका आधार हुन् र हाम्रो जीवनदाता पनि हुन् । विसं १९३२ तिर भोजपुरको दिङ्लामा आबाल ब्रह्मचारी षडानन्दले एउटा वनबाटिका बनाएका थिए । त्यस बाटिकामा उपलब्ध भए जति सबै वनस्पतिका बोट हुर्काए र उनले भने, “यो वनबाटिकाको सबैले जगेर्ना गर्नू ।” त्यसपछि त्यो बाटिकाको नाउँ ‘जगेडाको वन’ भयो । आजभन्दा डेढ सय वर्षपहिले सबैतिर जङ्गलै जङ्गल थियो । मान्छेहरू जङ्गल फाँडेर खुला ठाउँमा बस्न मन पराउँथे । त्यस्तो युगमा पनि षडानन्दमा वन र वनस्पतिको जगेडा गर्नु पर्छ भन्ने चेत रहेछ । उनले जगेडाको वन मात्र बनाएनन् । सबैले घरघरमा तुलसी रोप र सधैँ जल चढाउ भने । वरपिपल रोप र हुर्काउ भने । विज्ञानले हामीलाई पछि बतायो वर, पिपल र तुलसीबाट धेरै अक्सिजन पाइन्छ भन्ने कुरा । ती साधुले वर ब्रह्मा हो, पिपल विष्णु हो र समी शिव हो भनेर सबैलाई रोप्न लगाएका थिए रे । आबाल ब्रह्मचारी षडानन्दप्रति वर्तमान समयले कृतज्ञता व्यक्त गर्नु पर्छ ।

त्यो इतिहास, हालको प्राकृतिक असन्तुलन र अक्सिजनको महत्व बुझेकै कारण वनलाई बगैँचा बनाऔँ भनेर हिँडेका होलान् अभियन्ताहरू । यस अभियानलाई तीनै तहका सरकार र समाजले पनि ग्रहण गर्ने हो भने, परिस्थितिको गाम्भीर्यलाई मनन गरेर सहयोग गर्ने हो भने भोलिका सन्ततिले ढुक्क भएर प्रदूषणरहित अक्सिजन आफ्नो फोक्सोसम्म पु¥याउन पाउँथे कि !

  

Author

कृष्ण अधिकारी