• १५ वैशाख २०८१, शनिबार

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

blog

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १८ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 


यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो ।

बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो ।  

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई फाइन खेल्न नामिबियासँग आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । 

यस्तै लगातार दुई खेल जितेको नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।


दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । यदि आज नामिबियासँग पराजित भएका नेपाल फाइनल खेल्ने दौडबाट बाहिरिनेछ । नेपाललाई हराएमा नामिबिया फाइनल पुग्नेछ । नेपालले यस सिरिजको अन्तिम तथा चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।