बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन १७ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ ।
सम्बन्धित निकायको बेवास्ताका कारण जापानीज दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शितभण्डार र नेपाल सरकारको थ्रिपिपि मोडेल अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको जुस उद्योग वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको स्थानीय बासिन्दाको गुनासो छ ।
शितभण्डार सञ्चालक समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार जुनार र भूइँकटहरलाई लक्षित गरी निर्माण गरिएको उक्त शितभण्डार कच्चा पदार्थको अभावमा उक्त भवन प्रयोगविहीन अवस्थामा हो । उहाँले भन्नुभयो, "सिन्धुली जिल्लामा जुनार उत्पादन कम हुनु र जुनारको मूल्य उच्च भएकाले पनि प्रयोगमा ल्याउन नसकिएको हो । अहिले उक्त शितभण्डार एउटै कम्पाउन्डमा निर्माण गरिएको जुस उद्योगलाई तीस वर्षका लागि लिजमा दिएका छौँ ।"
लिजमा दिएको पनि १० वर्ष बितिसकेको र अहिले जुस उद्योग सञ्चालक समितिले चाँडै चलाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । "अहिले उनीहरूले अध्ययन गरिरहेका छन् । सम्भवतः अबको एक महिनामा निष्कर्षमा पुग्छ होला," उहाँले थप्नुभयो । उहाँका अनुसार जुनार भण्डारणलाई लक्षित गरी उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा बनेको हो ।
उक्त लागतमध्ये जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन समयमा जिविस, गाविस र जुनार उत्पादक किसानहरूबाट जुटाइएको हो । ३६० मेट्रिक्टन क्षमताको उक्त शीत भण्डार सुरुका दुई वर्ष प्रयोगमा आएपनि त्यसपछि प्रयोगमा नआएको सञ्चालकको भनाइ छ ।
जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यही उत्पादनलाई नै लक्षित गरेर शीत भण्डार निर्माण भएको थियो । शितभण्डार भवन जुस उद्योग कम्पनीले सञ्चालन गर्ने भनी सम्झौता भएको र उक्त उद्योग निर्माण पुरा नहुँदै आफैँ अलपत्र परेकाले शितभण्डार प्रयोगमा नआएको देखिएको स्थानीय बताउँछन् ।
उता, नेपाल सरकारको थ्रिपिपि मोडेल अन्तर्गत सरकार, उद्योगी र किसानको समेत लगानी जुटाउने गरी कुल छ करोड रुपियाँको लागतमा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन कम्पनीले निर्माण सुरु गरेको जुस उद्योगको अवस्था पनि उस्तै छ । उद्योग वाणिज्य महासङघमार्फत् आउने सरकारी अनुदान रोकिँदा उक्त उद्योग अधुरो रही अलपत्र अवस्थामा रहेको सञ्चालकहरूको गुनासो छ ।
करोडौँको लगानीमा निर्माण भएका संरचना शितभण्डार र जुस उद्योग आँखा अगाडी नै खेर गई रहेको गोलन्जोर गाउँपालिका–४ का जुनार किसान राजन ठकुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सुरुमा ती दुवै संरचना निर्माण सुरु हुँदा आफ्नै गाउँ ठाउँमा उद्योग स्थापना भयो भनेर जुनार किसान खुसी र उत्साहित थिए । अहिले प्रयोगविहीन बनेर अलपत्र छ । के भएको हो, बुझ्न नै सकिएको छैन ।’
उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ परियोजना अन्तर्गत पाँच कठ्ठा जमिन क्षेत्रफलमा उक्त जुस उद्योग निर्माण सुरु गरिएको सञ्चालकहरूले बताएका छन् । उनीहरूका अनुसार उद्योग वाणिज्य महासङ्घले हात झिकेपछि सरकारले दिने अरू करिब दुई करोड रुपियाँ रोकिँदा उक्त उद्योग निर्माण रोकिएर अलपत्र बन्न पुगेको हो ।
उद्योग वाणिज्य महासङ्घमा सुरज वैद्यको नेतृत्व हुँदा उक्त परियोजना आई उद्योग निर्माण सुरु भएको थियो । महासङ्घमा नेतृत्व परिवर्तन भएपछि अर्कोले त्यसलाई वास्ता नगरेको बताइएको छ ।
"उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड अनुदान र किसानको लगानी समेत गरेर चार करोड रुपैयाँभन्दा बढी खर्च भई सकेको छ," जुस उद्योग सञ्चालक समितिका सदस्य पनि रहनु भएका तीनै दीपक कोइरालाले भन्नुभयो, "भौतिक संरचना निर्माण कार्य पुरा भई सकेको छ । अहिले भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ । जुस उत्पादन गर्ने मेसिनहरू पुरा भएको छैन।"
सञ्चालक कोइरालाका अनुसार किसान आफैँले लगानी गरी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने अवस्था छैन । मुख्य गरी जुनार, भूइँकटहर र आँपलाई प्रशोधन गरी गुणस्तरीय फलफूल बजारमा पुर्याउने उद्देश्यले उक्त उद्योग निर्माण सुरु भएको थियो । उक्त जुस उद्योगमा उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्य समेतको लगानी छ ।