• १४ मंसिर २०८१, शुक्रबार

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

blog

तस्बिर सौजन्य : विपिनचन्द्र ढकाल

गुणबहादुर रोका 

सुलीकोट, फागुन १७ गते । गोरखाका विकट गाउँपालिका धार्चेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोली धार्चेको हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच सकाएर जिल्ला सदरमुकाम फर्किए लगत्तै लालपुर्जा दिने काममा लागि परेको सुकुम्वासी आयोगका जिल्ला सदस्य विपिनचन्द्र ढकालले जानकारी दिनुभयो । 

धार्चे गाउँपालिका-१ हुल्चुकमा जम्मा १३ घर भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा दिनको लागि फिल्डमै गएर प्रस्तावित जमिनको नापजाँच गरी १३ घर भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।  

१३ घर परिवारलाई यसअघि नै निस्सा वितरण भइसकेको छ । त्यही निस्साको आधारमा जमिनको नापजाँच भएको हो । उनीहरूलाई प्रदान गरिने जग्गा सरकारी, ऐलानी र पर्ती रहेको उहाँले जानकारी दिनुभयो । अहिले कसलाई कति जग्गा दिने भन्दा पनि १३ घर परिवार सबैलाई समान रूपले वितरण गरिने उहाँको भनाइ छ । धार्चेको धेरै ठाउँमा अव्यवस्थित बसोबासी समेत रहेकाले सुकुम्वासी भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेपछि मात्र उनीहरूको प्रक्रिया अघि बढाइने भूमि आयोग गोरखाका सदस्य ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि मात्र धार्चेको हुल्चुकमा भूमि आयोगका अध्यक्ष कमला नहर्की, सदस्य विपिन ढकाल, मिना पनेरु, नापी कार्यालय गोरखाका प्रमुख भरतराज खनाल, अमिन सूर्य बहादुर गुरुङ, सर्वेक्षक सम्झना खनाल लगायत सिर्दिवासको नापी र मालपोत कार्यालयका कर्मचारी पुगेर सबै काम सम्पन्न गरेर फर्किएको भूमि आयोग गोरखाले जनाएको छ।