• १३ साउन २०८१, आइतबार

कोइरालाको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर

blog

इमान सिं राना

रामपुर (पाल्पा), फागुन १७ गते । सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशले पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेसन नेपालको समन्वयमा शिविर सञ्चालन गरेको हो । 

सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक अमर सिं पुनले दुर्गमका जनताको स्वास्थ्य समस्या पहिचान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । नेपाली कांग्रेस लुम्बिनीका सभापतिसमेत रहनुभएका पुनले प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अनुसार यसअघि ३ जिल्लामा सम्पन्न भैसकेको र अहिले पहिलो चरणमा पाल्पासँगै गुल्मी, अर्घाखाँची र रोल्पा पनि शिविर हुने जानकारी दिनुभयो । 

प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले जटिल प्रकृतिका रोगबाट पीडित जनताको समस्या पहिचान गरी उपचारमा सहजीकरण गर्न शिविर सञ्चालन गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षण गरी पहिचान भएका जटिल रोगका बिरामीको थप उपचार काठमाडौं मेडिकल कलेजमा यही फागुन २८ गते निःशुल्क गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जनताको स्वास्थ्यका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । रामपुर आयुर्वेद अस्पतालको भवनमा भएको शिविरमा काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा सेवा प्रदान गरिएको थियो । जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसूति, नाक,कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नसा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरबाट कालीगण्डकी बेंसी क्षेत्रका नौ सय ५३ जनाले सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । 

शिविरमा काठमाडौं मेडिकल कलेजका प्रबन्धक नारायणप्रसाद दहालको नेतृत्वमा आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए ।