• १४ मंसिर २०८१, शुक्रबार

बुन्न छाडिए गुन्द्री चकटी

blog

गजेन्द्र गुरुङ

खजुरा, फागुन १७ गते । परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ । प्रविधिको विकास र यसको प्रयोगसँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको छ । गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ ।

पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई दाइँ हाल्ने प्रचलन रहेको थियो । ऐरावती गाउँपालिका–६, बिजुली महेन्द्रदीप प्युठानकी लोकमाया गुरुङका अनुसार गुन्द्री बुन्ने पराललाई सुकाइसकेपछि हिउँदको समयमा स्थानीयले हातबाट निर्मित तानबाट गुन्द्री बुन्ने चलन रहेको छ । हातबाट बुनेका गुन्द्री पहिला प्रशस्तै हुन्थे । हरेकले आआफ्ना घरमा गुन्द्री बुन्थे । परपाहुना आउँदा नयाँ गुन्द्री ओच्छाएर स्वागत गरिन्थ्यो ।

उहाँका अनुसार आजकाल त त्यो चलन झन्डै झन्डै हराइसक्यो । सबैका घरमा बजारमा पाइने रेडिमेड प्लास्टिकका म्याट (गुन्द्री) नै प्रयोग हुन्छ । छिटफुटबाहेक परालका गुन्द्री त देख्नै पाइन्न । परालबाट बनाइएको गुन्द्री बलियो र न्यानो हुने, वर्षभरि ओछ्याउन, बस्न, अन्नपात सुकाउन तथा टाढा रहेका आफन्तलाई उपहारसमेत दिइने लोकमायाले बताउनुभयो ।

गुन्द्री मात्र नभएर मकैको पात र मकैको पोक्सर (मकैको घोँगाको खोस्टा) बाट बनाइने चकटीसमेत गाउँघरबाट लोप नै भइसकेका छन् । वर्षायाममा पाक्न लागेको मकैको बोटबाट सुकेका पात टिपेर चकटी बनाइन्थ्यो । पोक्सरबाट पनि चकटी बनाउने चलन थियो । लोकमायाले भन्नुभयो, “आजकाल त मान्छेलाई फुर्सद नै हुँदैन । सबै बजारबाट किनेर ल्याइएका प्लास्टिकका वस्तुको नै प्रयोग भइरहेको छ ।”

उहाँका अनुसार पुराना पुस्तासँग भएका सिप पछिल्लो पुस्ताकाले नसिक्नु तथा चासो नदिनु, विस्तारै बसाइ सरेर गाउँबाट सहरतिर झर्नु, मान्छे अल्छी हुनु र प्रविधिको विकाससँगै रमाउन थालेकाले परम्परागत रूपमा बुन्ने गरेको गुन्द्री तथा चकटीको चलन हराइसकेको छ । गुन्द्री तथा चकटी बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सिप सिकाउनुपर्ने तथा पुराना परम्पराको महत्वका बारेमा बुझाउनुपर्ने उहाँको भनाइ छ ।