• १२ साउन २०८१, शनिबार

चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकता प्रवर्धन

blog

काठमाडौँ, फागुन १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्रकलाको माध्यमबाट नेपालको कला संस्कृति अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन भएको बताउनुभएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राजधानीमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को बुधबार समापन कार्यक्रममा उहाँले चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई समेत प्रवर्धन गरेको बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले कोरेका चित्रकलाले नेपालको पहिचानलाई बढाउन मद्दत गरेको छ । विश्वका विभिन्न देशका चित्रकारले चित्रकलाको माध्यमबाट नेपालको संस्कृति, भूगोल र परम्परालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन योगदान पु¥याउनुभएको छ । यसले अन्तर्राष्ट्रिय एकतालाई समेत प्रवर्धन भएको छ,” उहाँले भन्नुभयो । प्रदर्शनीमा राखिएका चित्रकला मौलिकताले भरिएका र तिनले ठुलो सन्देश प्रवाह गरेको भन्दै उहाँले प्रदर्शनीमार्फत देशको प्रतिष्ठालाई समेत अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउन ठुलो योगदान पुगेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक, सांस्कृतिक रूपमा सुन्दर रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल चित्रकलामय रहेकाले कलाकारले चित्रकलाको माध्यमबाट ठुलो सन्देश प्रवाह गरेको बताउनुभयो । चित्रकलाले दिने सन्देश धेरै नै शक्तिशाली हुने बताउँदै देशको पहिचान र प्रतिष्ठा बढाउन कलाकारको योगदानको उहाँले खुलेरै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टराईले प्रदर्शनीले नेपालको कला संस्कृति, प्राकृतिक सौन्दर्यलाई विश्वसामु परिचित गराउन सफल भएको बताउनुभयो । उहाँले प्रदर्शनीले खोटाङको समग्र सांस्कृतिक, धार्मिक, भौगोलिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याउन मद्दत पुग्नुका साथै सामाजिक उत्थान, सामाजिक विकास, कला संस्कृति र प्राकृतिक सौन्दर्यलाई सम्पत्तिका रूपमा प्रयोग गर्न सिकाएको बताउनुभयो । नगर उपप्रमुख बिसन राईले कला संस्कृतिको प्रवर्धन, प्राकृतिक सौन्दर्यको अन्वेषण, स्थानीय रहनसहन र जीवनशैलीको प्रचारप्रसार गर्न प्रदर्शनी कोसेढुङ्गा साबित भएको बताउनुभयो । उहाँले चित्रकला प्रदर्शनीले कला संस्कृतिको संरक्षणमा लाग्नसमेत प्ररित गरेको उल्लेख गर्नुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रदर्शनीमा अन्तर्राष्ट्रिय चित्रकारको उपस्थितिले नेपाली कलासँग अन्तर्राष्ट्रिय कला साटासाट गर्ने ठुलो अवसर भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय चित्रकारको सहभागिताले नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थानसहित स्थानीय जीवनशैलीका पक्षलाई समेत संरक्षण गरेको उल्लेख गर्नुभयो ।