• ३ जेठ २०८३, आइतबार

इरानी संसदका सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

blog

इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ ।

तेहरान, जेठ ३ गते । अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँगको सम्बन्ध हेर्ने विशेष प्रतिनिधि नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

“मोहम्मद बाघेर गालिबाफलाई हालै इरानको चीन मामिलाका लागि विशेष प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ,” तस्निम समाचार एजेन्सीले इरानी विश्वस्त स्रोतलाई उद्धृत गर्दै लेख्नुभएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनको प्रस्ताव र सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको प्रस्तावमा गालिबाफलाई उक्त पदमा नियुक्त गरिएको तस्निमले जनाएको छ । उहाँले इरान र चीनबिचको सम्बन्धका विभिन्न क्षेत्रमा समन्वय गर्ने बताइएको छ ।

गत मार्च १७ मा अमेरिका-इजरायली आक्रमणमा मारिएका दिवङ्गत सुरक्षा प्रमुख अली लारीजानीले पनि यस्तै अडान लिनुभएको थियो । लारीजानीले चीनसँगको वार्तालाई अगाडि बढाउने जिम्मेवारी सम्हालेपछि इरान र चीनबिच सन् २०२१ मा २५ वर्षे सहयोग सम्झौता भएको थियो । फेब्रुअरी २८ मा इजरायल र अमेरिकासँग युद्ध सुरु भएपछि, गालिबाफ अप्रिलमा अमेरिकासँग एकल चरणको वार्तामा उच्च-जोखिम कूटनीतिको नेतृत्व गर्ने प्रमुख व्यक्तित्वको रूपमा देखा पर्नुभएको छ । 

अप्रिल ८ मा युद्धविराम हुनुअघि मध्यपूर्वमा फैलिएको युद्धमा पूर्व सर्वोच्च नेता अली खामेनीसहित धेरै वरिष्ठ इरानी अधिकारी मारिएका थिए । इरानले हालैका दिनमा धेरै चिनियाँ जहाजलाई रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ, जुन युद्ध सुरु भएदेखि अवरुद्ध गरिएको एक महत्त्वपूर्ण विश्वव्यापी इन्धन ढुवानी मार्ग हो । रिभोलुसनरी गाड्र्सका अनुसार चिनियाँ जहाज इरानको हर्मुज घाँटी व्यवस्थापन नियममा भएको सम्झौतापछि त्यहाँबाट गन्तव्यतर्फ छुटेका हुन् । रासस/एएफपी