• १२ असोज २०८१, शनिबार

१०९ विद्यालयमा आजबाट पठनपाठन सुरु हुँदै

blog

विद्यालयमा पठनपाठन हुँदै । फाइल तस्बिर

राजन रावत

हुम्ला, फागुन १६ गते । जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा हिउँदे बिदापछि फागुन १६ गतेबाट पठनपाठन सुरु हुने भएको छ । फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आए पनि यो बिचमा विद्यार्थी भर्ना कार्य गरिएका कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यले फागुन १६ गते बुधवारबाट  गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु हुने बताउनुभयो । उहाँले यसअघिका गत मङ्सिरमा बसेको प्रधानाध्याकहरुको बैठक फागुन १६ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अनिवार्य सुरु गर्ने निर्णय अनुसार पढाइ सुरु हुने बताउनुभयो । गत फागुन २ गतेबाट सबै विद्यालयहरू सञ्चारमा आएर भर्ना  कार्य गरेको र अब भर्ना कार्य अन्तिम चरणमा पुगेकोले पढाइ सुरु हुनेछ । सिमकोट गाउँपालिकामा सामुदायिक विद्यालयहरू २१ वटा रहेका भने चार वटा संस्थागत विद्यालय छन् । यी सबै विद्यालयमा पठनपाठन सुरु हुनेछ । यी विद्यालयहरूमा  तीन हजार विद्यार्थी अध्ययन गर्दै आउनुभएको छ ।

  हिउँदे बिदापछि फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएका थिए । गत पुस १६ गतेबाट हिउँदे बिदा सुरु भएको थियो । यता खार्पुनाथ गाउँपालिकाका सामुदायिक विद्यालयमा पनि फागुन १६ गतेबाटै पठनपाठन सुरु हुने भएको छ । उक्त गाउँपालिका शिक्षा शाखाका प्रमुख ललितजंग शाहीले १७ वटा विद्यालयमा पढाइ सुरु हुने बताउँदै यसबाट दुई हजार आठ सय विद्यार्थीको पढाइ सुरु हुने बताउनुभयो । त्यसैगरी सर्केगार्ड गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा पनि फागुन १६ गतेबाट पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख वीरजंग शाहीले बताउनुभयो ।

यता चङ्खेली गाउँपालिकाका २६ वटा विद्यालयमा भोलिबाट पठनपाठन सुरु हुने भएको छ । त्यसैगरि ताँजाकोट गाउँपालिकाका सामुदायिक विद्यालय भने फागुन ९ गतेबाट पढाइ सुरु भएको सो गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले बताउनुभयो ।