• ४ मंसिर २०८१, मङ्गलबार

सामाजिक अपहेलनामा कुष्ठरोगी

blog

अस्पतालमा उपचाररत कुष्ठरोगी । तस्बिर : सावित्री गिरी

कोहलपुर समाचारदाता

कोहलपुर, फागुन १६ गते । रुकुमको पिपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले कुष्ठरोगको नियमित उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नु परेको गुनासो उहाँले सुनाउनुभयो । 

रोगको पीडा सहन नसकेपछि उपचार गर्न रुकुम सदरमुकाम आइपुगेकी दाहाल थप उपचारका लागि बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा रहेको साइनिङ अस्पतालमा पुग्नुभएको छ । कुष्ठरोग लागेको थाहा पाएपछि समाजले राम्रो व्यवहार नगरेको र घरपरिवारले पनि बेवास्ता गरेको दुःखेसो उहाँले पोख्नुभयो । यस्तै अछामको तुर्माखाद गाउँपालिका–४ का बिजेश बुढा पनि सोही अस्पतालमा उपचार गराइरहनुभएको छ । 

भारतमा उपचार गर्दा यो रोग लागेको थाहा पाएपछि उहाँ आफन्त कोही नभए जस्तो गरी उपचार गराइरहनुभएको छ । गाउँघरमा छिमेकीले त परै जाओस् घरपरिवारले पनि सम्मानजनक व्यवहार नगर्ने भएकाले लुकेर उपचार गर्नु परेको भनाइ उहाँको छ । 

अब उपचार गरेर घर कसरी फर्किने होला, जीविकोपार्जन कसरी गर्ने होला उहाँलाई पिर परेको छ । बाँके र बर्दिया जिल्लामा क्रियाशील पत्रकारसँगको कुराकानीमा उपचाररत कुष्ठरोग सङ्क्रमितले समाजमा सम्मानजनक रूपमा बस्न र बाँच्न पाउने अवसर प्रदान गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

अस्पताल प्रमुख एवं कुष्ठरोग उपचारमा संलग्न स्वास्थ्यकर्मी मङ्गलबहादुर थारूका अनुसार चालु आर्थिक वर्षमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । चालु आव २०८०/८१ को छ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेका हुन् । 

अस्पतालले आठ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका बिरामी फेला परेका हुन । गत वर्षको सोही अवधिमा ५१ जना बिरामी फेला परेका थिए । चालु आवमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् ।

अन्य बर्दिया, सुर्खेत, सल्यान र रुकुमका बिरामी हुन् । १५ जना भने भारतीय बिरामी रहेको थारूले बताउनुभयो । २४ बेड क्षमताको डेडिकेटेड यो अस्पतालमा ६० जना कुष्ठरोगका बिरामीमध्ये ५२ जनालाई अस्पतालमै भर्ना गरी उपचार गरिएको छ ।